एमसीसीबारे धारणा बनाउन गठबन्धनले तीन सदस्य अध्ययन समिति बनायो

काठमाडौँ — सत्ता गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट हुन अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले संसदको यो अधिवेशनमा एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय प्रस्तुत गरेका थिए । तर, सत्ता साझेदार दलहरूले नै एमसीसीका व्यवस्थाहरूमाथि प्रश्न उठाएपछि गठबन्धनले त्यसबारे समान धारणा बनाउन समिति गठन गरेको हो । अध्ययन समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल छन् ।

समितिले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने सहमति भएको एक नेताले जानकारी दिए । ‘सबै दलहरूबीच समान धारणा छैन । त्यसैले कुन बुँदा कति गम्भीर र आपत्तिजनक छन् ? कुन बुँदामा के थपघट गर्ने वा संशोधन गर्ने भन्ने विषयमा समितिले छलफल गर्छ, त्यसपछि त्यसलाई शीर्ष नेताहरूमाझ बाट छलफल गरेर अघि बढ्ने भन्ने सहमति भएको छ,’ ती नेताले भने ।

प्रधानमन्त्री देउवाकै आह्वानमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले एमसीसीबारे शंशय उत्पन्न विषयहरूमा स्पष्ट भएपछि मात्रै धारणा बनाउन सकिने बताएका थिए ।