एन्फामा ७ पदाधिकारीद्वारा कार्यसमितिको बैठक माग
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षससहित सात पदाधिकारीले केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै बिहीबार एन्फा सचिवालयमा निवेदन दर्ता गरेका छन् । उनीहरूले बैठकको माग गरे पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्का, सदस्यहरू किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले कार्यकारी समितिको बैठक माग गर्दै निवेदन दर्ता गरेका हुन् । संयुक्त रुपमा दर्ता गरिएको निवेदनमा उनीहरूले ‘लामो समयदेखि बस्न नहुँदा महत्वपूर्ण विषयहरूमाथि छलफल नभएकोले खेलको विकासमा गतिरोध देखापरेको तथा विधि–प्रक्रियाविहीन ढंगबाट संघ सञ्चालन नभएको’ आरोप पनि लगाएका छन् । साथै, जिल्ला, प्रदेश र राष्ट्रिय लिग तथा राजधानीका ए, बी र सी डिभिजन लिग सञ्चालनबारे छलफललाई बेवास्ता गरेको दाबी पनि गरिएको छ ।
निवेदनमा लेखिएको छ, ‘आवश्यक विषयहरूमा समेत छलफल गर्न संघको अध्यक्षज्यूलाई पटक-पटक अनुरोध गर्दा पनि बेवास्ता गर्नुभएकोले संघको विधानको धारा ३७ (उपधारा २) बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं ।’ एन्फाको कायसमिति बैठक पछिल्लोपटक २०७७ माघ ५ गते बसेको थियो । त्यसयता दुईपटक चार पदाधिकारीले बैठकको माग गरे पनि एन्फा नेतृत्वले बेवास्ता गर्दै आएको छ । कार्यसमितिको निर्णयबिना नै एन्फा नेतृत्वले ‘ए’ डिभिजन लिगलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनीहरूको आरोप छ ।