ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप लामिछनेलाई कप्तानकाे जिम्मेवारी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बाेर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई दिएकाे छ ।

क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिलाको लागि सहभागि नगराउने निर्णय पनि गरेको छ ।

क्यानले यसअघि गरेको खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषयलाई लिएर मल्लसहित चार खेलाडीले सार्वजनिक रुपमा गुनेसो गर्दै आउनुभएको थियो । खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यवहारिक नभएको कारबाही गरिएका खेलाडीको भनाइ थियो । खेलाडीसँग क्यानले स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडीले आचार संहिता समेत पालना नगरेकोले कारबाही गरिएको क्यानले जनाएको छ ।

यसैगरी क्यान बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण डिसेम्बर २१ देखि पोखरामा गर्ने, नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने, संघका पूर्वअध्यक्ष नरेश श्रेष्ठलाई क्यान सल्लाहकार समितिमा चयन गर्ने निर्णय पनि गरेको छ ।

यसरी सुरु भएको थियो क्यान र खेलाडीहरुबीचको विवाद

नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको कप्तान कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेको छ। उनीहरुसँगै तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गरेको जनाएको छ।

यी चार खेलाडीले क्यानले ग्रेड सार्वजनिक नगर्दै मिडियामा त्यसबारे विरोध जनाएपछि दुई पटक स्पष्टीकरण सोधेको थियो। उनीहरुले क्यानले गरेको ग्रेडमा असन्तुष्टि पोखेका थिए। मिडियामा आएकै कारण उनीहरुलाई क्यानले कात्तिक २५ गते स्पष्टीकरण सोधेको थियो। चारै जनाले गत कात्तिक ३० मा क्यानलाई जवाफ फर्काए पनि चित्तबुझ्दो जवाफ नआएको क्यानले जनाएको छ।

बुधबार बसेको बैठकले ५ बुँदे निर्ण गर्दै चारै जना खेलाडीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। योसँगै क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। ‘नेपाल क्रिकेट संघले अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिसबमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा संलग्न चार जना खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपान कामी र कमलसिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ,’ नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ।’

त्यस्तै क्यानले राष्ट्रिय क्रिकेटको बन्द प्रशिक्षण बगामी डसेम्बर २१ देखि पोखरामा सञ्चालन हुने जानकारी दिएको छ।