सामाजिक सुरक्षा भत्ता दुरुपयोगको श्रृङ्खला, दुई पालिकामा अख्तियारको छापा

रासस ।

काठमाडौँ – राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक र दलित ज्येष्ठ नागरिकलाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै फर्जी कागजात बनाएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

महोत्तरीको साविक नमूना गाउँ विकास समितिको कार्यालय गौशालाका तत्कालीन सचिव नागेश्वर रायले आफैँले हस्ताक्षर गरी राज्यले उपलब्ध गराएको रकम बुझ्ने गरेको अनुसन्धानमा खुलेको छ । आर्थिक वर्ष २०६७/०६८ मा जिल्ला विकास समितिको कार्यालय जलेश्वरले उपलब्ध गराएको रकम दुरुपयोग गरेको आयोगको ठहर छ ।

भर्पाइको बुझी लिनेको सहीछाप महलमा आफैँले र अरु व्यक्तिलाई समेत औँठाछाप गर्न लगाई रु १२ लाख ८६ हजार ८०० बराबरको भ्रष्टाचार गरेको पाइएको छ । आयोगले तत्कालीन सचिव नागेश्वरविरुद्ध बिगोबमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लहानमा कार्यरत लेखा प्रमुख विष्णुप्रसाद गुप्ताविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मिटररिडर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र हेल्पर सत्यनारायण साहले पाउने रकममा बदमासी गरेको पाइएको छ ।

गुप्ताले ठाकुरको नामको रु आठ लाख सात हजार ३६० को चेक आफ्नै खातामा जम्मा गर्न लगाएको र सत्यनारायण साहको रु एक लाख २४ हजार २०० बराबरको चेक कार्यालय सहायकलाई सटही गर्न लगाई आफैँले लिएको तथा बीमाबापतको रकम पाउँदैनौ भन्दै पदीय दुरुपयोग गरेको आयोगको अध्यनबाट पुष्टि भएको छ ।

बीमाबापतको रकम नदिने मनसायका साथ लेखा प्रमुखले भ्रष्टाचारजन्य गतिविधि गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी गलत विवरण पेश गरी शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको खुल्ला परीक्षामा सहभागी भई नियुक्त समेत भएको र सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मनकला चौलागाईं आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आचार्यले तलब भत्ताबाट लिएको रु छ लाख ७४ हजार ५११ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।

दुई पालिका कार्यालयमा अख्तियारको छापा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा छापा मार्दै आर्थिक प्रशासनसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले दुवै कार्यालयमा मंगलबार छापा मारेको हो ।

अर्थिक खटनपटन, खरिद, निर्माणलगायतमा अनियमितता भएको उजुरीमाथि छानबिन गर्न कागजात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । ‘दुवै पालिकाबाट भएका आर्थिक प्रशासन र खरिद प्रक्रियासँग जोडिएर कागजातहरू नियन्त्रणमा लिइएको छ, बाँकी विषय थप अनुसन्धानबाट खुल्छ,’ उनले भने, ‘खासगरी खरिद र निर्माणसँग जोडिएका विषयमा अनियमितता भएको भन्ने उजुरी परेको थियो, केन्द्रबाटै विशेष टोली खटाइएको हो ।’

दुवै पालिकाले ५ लाखभन्दा माथिको खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरी परेको थियो ।