यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार १ बजेदेखि सुरु हुने महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रीय सदस्य मनोनित हुनेछन् । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन २४ गते बिहान १० बजे भएको छ । उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल भए पनि अन्तत: कागजको मतपत्रमा नै मतदान गरिने भएको छ ।

५० लाख लागतमा सिंगारिएको कांग्रेसको महाधिवेशन स्थल

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ । यस्तै, महाधिवेशन स्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागत द्वार राखिएको छ ।

महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ । आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति लाग्ने भएको छ । ‘सुरुमा ३५ लाखमा ठेक्का लिएको हो । तर, आयोजकले पछि डिजाइनहरु थप्दै गएपछि लागत बढेको छ । अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ । थप हिसाब गर्नै पर्छ’, उनले भने ।

आज दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधिहरू सहभागि हुनेछन् ।