सकेसम्म सहमतिबाटै नेतृत्व छानौं, प्रधानमन्त्री देउबा

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी महाधिवेशन लगत्तै आम निर्वाचन भएकाले त्यसलाई प्रभाव पार्ने गरी अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताएका छन् । सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नु राम्रो भएको उनको तर्क थियो । ‘सकभर सहमतिबाटै नेतृत्व टुंगो लगाऔं । तर त्यसो भएन भने अस्वस्थ प्रतिस्पर्धा र कटुता नहोस्, म सबैलाई आग्रह गर्दछु,’ देउवाले भने, ‘महाधिवेशन लगत्तै आमचुनाव छ, पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’

उनले कांग्रेसको महाधिवेशन प्रजातन्त्रको भविष्यका लागि समेत अर्थपूर्ण हुने भन्दै अस्वस्थ प्रतिस्पर्धा नगर्न नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । ‘सबैतिर उत्साह छाएको छ, उत्साहसहित काठमाडौं आउनुभएको छ, अब सबै उत्साहका साथ गाउँ घर फर्केर पार्टीलाई चुनाव जिताउन लाग्न अनुरोध छ,’ देउवाले भने ।

सहमहामन्त्री प्रकासशरण महतको पुस्तक विमोचन गर्दै बिहीबार देउवाले यो महाधिवेशनपछि कांग्रेसले बहुमत प्राप्त गर्ने शक्ति आर्जन गर्नुपर्ने बताए । ‘प्रतिस्पर्धाबाट हुने जित-हारलाई सामान्य रुपमा लिनुपर्छ, हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ,’ देउवाले भने ।

सभापतिको दौडबाट पछि नहट्ने : नेता प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । संस्थापनइत्तर पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् । ‘पार्टी विधि र पद्धतिमा चल्न सकेको अवस्था छैन, पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न मैले यो महाधिवेशनमा उम्मेदवारी दिएको हुँ, मैले दाबी छोड्दिनँ,’ उनले भने ।

उनले बानेश्वरमा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै पार्टीभित्र प्रजातान्त्रिक अभ्यासलाई थप मजबुत बनाएर अघि बढ्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए । उनले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मासाथ गर्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरेका छन् ।