दुई महामन्त्री पदका लागि १० जनाको दाबी, नेपाली कांग्रेसको १४औँ महाधिवेशन

काठमाडौँ । शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चुनिने नेतृत्वबारे आमचर्चा छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका दुई गुट आ–आफ्नै खालको संकटमा फसेका छन् । वडादेखि नै प्रष्ट दुई धारबीच प्रतिस्पर्धा भएकाले केन्द्रीय नेतृत्व चयनका लागि पनि प्यानल नै बनाएर चुनाव हुने निश्चित छ ।

संस्थापनइतरले सभापतिकै साझा उम्मेदवार तय गर्न नसकिरहेका बेला सभापति शेरबहादुर देउवालाई पदाधिकारीमा आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ । संस्थापन पक्षलाई सबैभन्दा धेरै सकर महामन्त्रीको उम्मेदवार टुंग्याउन परेको छ । महामन्त्री कांग्रेसको आगामी नेतृत्वको समेत प्रत्यासी रहने कार्यकारी पद भएकाले अधिकांश नेताहरुले आकांक्षा राखेका हुन् ।

जम्मा दुई जना निर्वाचित हुन महामन्त्री पदमा पाँच गुणा आकांक्षी देखिएका छन् । हालसम्म संस्थापन पक्षबाट ६ नेताले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले सहमहामन्त्री भएकाले महामन्त्रीमा डा.प्रकाशशरण महतको स्वभाविक दाबी छ । त्यस्तै, देउवाका विश्वासपात्र मानिएका हालका गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सशक्त दाबी गरिरहेका छन् । उनीहरुले मन्त्री पद छाड्ने तर महामन्त्रीमा दाबी नछाड्ने बताएका छन् ।

संस्थापनबाट नयाँ पुस्ताका नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्दीय सदस्यहरु एनपी साउद, रमेश लेखकले पनि महामन्त्रीमा दाबेदारी पेस गरिसकेका छन् ।

सभापतिका लागि साझा उम्मेदवार तय गर्न सकस परिरहेको कांग्रेस संस्थापनइतर पक्षका महामन्त्रीका दाबेदार संस्थापन पक्षका भन्दा कम छन् । यद्यपि उनीहरुबीच पनि भागबन्डा मिलाउन कठिन नै हुने देखिन्छ ।

अहिलेका रक्षामन्त्री डा.मिनेन्द्र रिजाल उक्त पक्षका शक्तिशाली दाबेदार हुन् । त्यस्तै, १३औँ महाधिवेशनमा सोही पदमा उठेर पनि पराजित भएका गगन थापा पनि महामन्त्रीको बलियो दाबेदार मान्निछन् । त्यस्तै धनराज गुरुङले पनि महामन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।

कृष्णप्रसाद सिटौला पक्षलाई आफूतिर तान्न संस्थापन र संस्थापनइतर पक्षले आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् । त्यसो हुँदा प्रदीप पौडेललाई व्यवस्थापन गर्ने विषय कठिन देखिन्छ ।