नेपाली समाज नटिघंमको अध्यक्षमा रविन्द्र शर्मा बिजयी

नटिघंम । डिसेम्बर ६ तारिख सोमबार सम्पन्न नेपाली समाज नटिघंमको सातौ अधिवेशनमा रबिन्द्र शर्मा बिजयी हुनुभएको छ । समाजको निवर्तमान कार्यसमितिमा महासचिव रहेका शर्माले १ सय २२ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । शर्माको निकटतम प्रतिस्पर्धी निवर्तमान कार्यसमितिका उपाध्यक्ष राम पन्थीले १ सय २ मत प्राप्त गरी उपविजेता बन्नुभयो ।

त्यस्तै, समाजको दुई उपाध्यक्षमा मुकुन्दहरि खरालले २ सय ४ मत र गंगा ढकालले १ सय ११९ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने अर्का प्रतिस्पर्धी गणेश सापकोटा १ सय १७ मत ल्याएर उपविजेता बन्नुभयो ।

अध्यक्ष र उपाध्यक्षबाहेक अन्य सबै पदहरुमा भने निर्विरोध भएको थियो । जस अनुसार महासचिवमा लोकनाथ अधिकारी, सचिवमा उपेन्द्र सापकोटा, कोषाध्यक्षमा विरेन्द्र (रेशम) खड्का र सहकोषाध्यक्षमा रविन्द्र गिरी चुनिएका छन् । त्यसैगरी सदस्यहरूमा शेषकान्त (रामु) सापकोटा, ओम प्रकाश शर्मा, अंचल सापकोटा, अर्जुन सापकोटा, बिशाल प्रसाद, बिबेक खाती क्षेत्री, कमल खरेल, ईस्वरी कडेल, दुर्गा भुसाल, सुश्री रेशमा खत्री, केशव न्यौपाने र बिकास सापकोटा चयन भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि समाजका कुल २ सय २४ सदस्यले मतदान गरेका थिए । सोमबार संस्थाका सदस्यहरुमाझ गराइएको मतदानमार्फत् रविन्द्र शर्मा अध्यक्ष र दुई उपाध्यक्षहरु निर्वाचित हुनुभएका हुन । नवनिर्वाचित कार्यसमितिको घोषणासंगै निर्वाचन समितिका प्रमुख एनआरएनएनए यूके उपाध्यक्ष गोविन्द खरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । समाजका पूर्व अध्यक्ष समेत रहेका खरेलको संयोजकत्वमा पूर्व अध्यक्षत्रय रण केसी, प्रविन पाण्डे र विष्णु चालिसे सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई समाजका पूर्व अध्यक्षहरु रणबहादुर केसी र तारा भण्डारी, पूर्व उपाध्यक्ष कृष्ण खरेल र शम्भु अर्याल, पूर्व संरक्षक लालबहादुर थापा, महिला फाउन्डेसनका तर्फबाट अध्यक्ष कल्पना गुरुङ र कोषाध्यक्ष विष्णु खरेल तथा पूर्व अध्यक्षहरु अर्चना हमाल र गीता भट्टराईलगायतले बधाई तथा शुभकामना दिएका थिए । नटिघंम ईस्टमिडल्याणड युकेमा बसोवास गर्ने सबै नेपाली समुदाय बीचको भातृत्व, सदभाव, एकता र अखण्डतालाई अझै दिगो बनाउदै कार्यसम्पादन गर्न नया‘ कार्यसमितिलाई सफलता मिलोस् भन्दै संस्थापक अध्यक्ष रणबहाखुर खाती क्षेत्रीले शुभकामना दिएका छन् ।

नवनियुक्त अध्यक्ष रविन्द्र शर्माले आफूलाई मतदान गरी संस्थाको नेतृत्व सुम्पिने सदस्य एवम् अग्रजहरुलाई धन्यवाद दिनुभएको थियो । नव निर्बाचित शर्माले सबैलाई समेटेर समाजलाई थप उचाइमा पुर्‍याउने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । भद्र तथा सालीन ब्यक्तित्व निर्वाचित अध्यक्ष शर्मा काभ्रे सोसाइटी यूकेका पनि संस्थापक पनि अध्यक्ष हुन् ।

नटिङहमको द क्लब बारमा सम्पन्न महाधिबेशन अघि संस्थाको निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सातौं अधिवेशन पनि सम्पन्न भएको थियो । नेपाली समाज नटिघंमले दुई वर्षअघि पनि निर्वाचनबाटै नेतृत्व चुनेको थियो ।