आजदेखि कानुन व्यवसायीले नियमित बहस गर्ने, सँगसंगै आन्दोलन पनि जारी
सर्वोच्चमा ३३६ मुद्दाका लागि १० इजलास गठन
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले आजदेखि नियमित बहस पैरवी गर्ने भएका छन् । प्रधानन्यायाधीशविरुद्ध करिब १ महिनादेखि आन्दोलित कानुन व्यवसायीहरु आजदेखि काममा फर्किने नेपाल बार एसोसिएसनले जनाएको छ । यद्देपी उनीहरुले जबराविरुद्ध आन्दोलनका कार्यक्रमलाई भने जारी राख्ने बताएका छन् । सर्वोच्चमा आइतबारका लागि ३३६ मु्द्दाका लागि १० इजलास गठन गरिएको छ ।
नेपाल बार एसोसीएसनको उपाध्यक्ष रक्षा बस्यालले तामेली,बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दाको बहस गर्ने तर प्रधानन्यायाधीशविरुद्धको आन्दोलन जारी राख्ने अन्नपूर्णलाई बताइन् । उनले भनिन्, ‘सर्वोच्चमा गोला प्रक्रियाबाट मुद्दाको पेशी तोकिसकेको अवस्था छ। न्यायाधीशहरु नियमित इजलासमा फर्किसक्नु भएको छ । तरपनि प्रधानन्यायाधीशले राजीनामा दिनु भएको छैन । आफूहरुले तामेली,बन्दीप्रत्यक्षीकरणलगायतका मु्द्दाको बहस गरेपनि आन्दोलनका कार्यक्रमलाई पनि निरन्तरता दिन्छौं।’
प्रधानन्यायाधीशप्रति असन्तुष्ट सर्वोच्चका न्यायाधीश पनि नियमित इजलासमा फर्किसकेका छन् । गोला पक्रियाबाट मुद्दाको पेशी तोकिएसँगै उनीहरु काममा फर्केका हुन् । नेपाल बारले प्रधानन्यायाधीश जबराको बहिरगनको माग गर्दै संसद्मा रहेका राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा छलफल गर्ने बचन दिएका थिए ।
केही नेताहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने सरकारको तयारी रहेको बताएका छन् । तर, सत्तारुढ दलका शीर्ष नेताहरुले यस विषयमा पछिल्लो समय मुख खोलेका छैनन् ।