उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकतामा तमु धिं यूकेले ल्होछार २०२१ मनाउने
लण्डन । तमु धिं यूकेको अस्ति मिति २०२१ साल नोभेम्बर २० तारिख शनिबार बसेको वार्षिक साधारण सभाले उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकतामा आगामी डिसेम्बर २६ तारिख आइतबार अल्डरसट स्थित एम्पायर हलमा ल्होछार २०२१ मनाउने निर्णय गरेको छ । गत बर्ष कोभिडको कारण मनाउन नपाएको ल्होसार यस पटक भने धुमधामसँग मनाउनको लागि तयारी गर्न शुरु गरिसकेको कुरा स्वयम संयोजक तथा उपाध्यक्ष जुमकाजी गुरुङले खबर यूकेलाई जानकारी गराउभएको छ ।
“हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरब” भन्ने मुल नाराका साथ तमु धिं यूकेले हरेक बर्ष मनाउदै आइरहेको तमु ल्होछार यस पटक पनि बिशेष र भब्यताका साथ मनाउन लागेको छ । स्थानीय कलाकारहरु र नेपालबाट पनि कलाकारहरु मगाएर भरपुर मनोरन्जनकासाथ मनाइने ल्होछारमा यो साल चर्चित लोक दोहोरी गायक द्वय- पवित्र गुरुङ तथा दुर्गा गुरुङलाई नेपालबाट बोलाउने कुरा संयोजक जुमकाजी गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो ।
तमु धिं यूकेको आजीवन सदस्यहरुलाई नि:शुल्क र अन्य सदस्यहरुको लागि प्रबेश शुल्क १५ पाउण्ड तोकिएको छ । बेलुका ५ बजेबाट शुरु हुने उक्त कार्यक्रम रातको ११:५९ बजे समाप्त हुनेछ । बिगतका बर्षहरुमा रिडिङ स्थित रिभरमिड लेज्युर सेन्टरमा ल्होसार मनाउदै आए त पनि यसपटक भने नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र मिनी नेपाल भनेर चिनेने अल्डरसट स्थित एम्पायर हलमा ल्होसार मनाउने भएको छ । कार्यक्रममा मिष्ठान भोजनसँगै स्थानीया कलाकारहरुको नृत्य, प्रतक्ष्य/लाइभ म्युजिक सँगै बिभिन्न मनोन्जनका कार्यक्रम हुनेछन ।
कार्यक्रममा नेपाली राजदुताबसको उपनियोग प्रमुख रोशन खनाललाई पनि आमन्त्रण गरिनेछ । गुरुङहरुको ल्होछार कार्यक्रम भएपनि यूकेबासी सबै नेपालीहरुले कार्यक्रममा भाग लिन सकिने र सबै यूकेबासी नेपालीलाई ल्होछार मनाउन आउनुहुन संयोजक उपाध्यक्ष जुमकाजी गुरुङले खबर यूकेमार्फत निमन्त्रणा गर्नुभएको छ ।
गुरुङहरुको (तमुहरुको) बर्ग चक्र अनुसार यस साल गाई बर्गलाई (ल्वो ल्होलाई) बिदाइ गरेर बाघ बर्गलाई (तो ल्होलाई) स्वागत गर्ने बर्ष हो । यूके लगयात बिभिन्न देशका गुरुङ र गुरुङ संघसंस्थाले ल्होसार धुमधामसँग मनाइन्छन ।