कानुन व्यवासायीको विराेध तथा धर्ना जारी, गृहमन्त्री खाँडको राजीनामा माग
काठमाडौं, मङ्रसिर ५ गते । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियशन लगायत कानुन व्यवसायीहरुले निरन्तर गर्दै आएको विरोध प्रदर्शन आइतबार पनि जारी छ । आज पनि सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीद्वारा देशव्यापीरुपमा यस मुद्दामा सहभागी हुन कानुन व्यवसायीमा आव्हानसमेत गरिएको छ ।
सर्वोच्चको मूल गेट अगाडि निरन्तर धर्ना तथा प्रदर्शन हुँदै आएपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक द्वारबाट सर्वोच्च प्रवेश गर्नुहुँदै आउनुभएको छ ।
साथै न्यायिक शुद्धीकारणका लागि गरेको शान्तिपूर्ण आन्दोलन दबाउन सरकारले प्रहरी खटाएको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा मागेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार सर्वोच्च परिसरमा धर्ना दिन गएका कानुन व्यवसायीहरुले धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
उनीहरुले चर्को नाराबाजी गर्दै भ्रष्टाचारी न्यायाधीश र गृहमन्त्री खाँडले यथाशीघ्र राजीनामा दिनुपर्ने माग गरे । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्री खाँडले प्रहरी खटाएर आन्दोलन विथोल्न खोजेको आरोप लगाए । उनले भने,’ न्यायिक शुद्धीकरणको लडाइँमा प्रहरी खटाइनु खेदजनक छ। भ्रष्टाचारी न्यायाधीश जबरा र गृहमन्त्री खाँडले राजीनमा दिनैपर्छ ।’
उनले न्यायालय बिचौलियाको कब्जामा रहेको बताए। उनले भने,’ न्यायालय बिचौलियाको कब्जामा छ। बल प्रयोग मान्य छैन । यदि प्रहरी गेट बाहिर गएनन् भने यो आन्दोलन सिंहदरबार केन्द्रित हुन्छ। बारले सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन समेत माग गरेको छ । यसअघि बारले पटक-पटक सर्वोच्च परिसरबाट प्रहरी हटाउन गृहमन्त्राललाई खबर गरेको थियो ।
धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच प्रत्येक दिनजसो घम्साघम्सी हुँदै आएको छ । केही दिनअघि धर्नमा बसेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारले बताएको छ । बारले आजदेखि विरोधका नयाँ कार्यक्रम घोषणा गरी आन्दोलित छ ।