बिरामी सीतालाई भेट्न योग गुरु रामदेब प्रचन्ड निवास पुगे

काठमान्डौ । बिहीबार अपराह्न काठमाडौं आइपुगेका भारतीय योग गुरू स्वामी बाबा रामदेव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् । उनी सहकर्मी आचार्य बालकृष्णका साथमा बिहीबार बेलुका प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

रामदेवले खुमलटारमा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीतासहित प्रचण्डका परिवारसँग भेट गरेका छन् । रामदेव र आचार्य बालकृष्णले बिरामी रहेकी प्रचण्डपत्नी सीतालाई स्वास्थ्यलाभको कामना गरेका छन् । रामदेव र बालकृष्ण आचार्य खुमलटार पुगेर सीतालाई स्वास्थ्यलाभ दिएको तस्बिर प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा राखेकी छिन् ।

सुरक्षा स्रोतका अनुसार रामदेव र बालकृष्ण अपराह्न ५ बजे काठमाडौं आएका थिए । काठमाडौं विमानस्थलबाट उनीहरू पतञ्जली योगपीठ मण्डिखाटार पुगेका थिए । त्यहाँबाट रामदेव र आचार्य सिधै प्रचण्ड निवास पुगेका थिए। उनीहरू मंसिर ५ गतेसम्म काठमाडौंमा रहने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो । यसक्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाणलगायत नेतालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

उनीहरूले पतञ्जली योगपीठले सञ्चालन गर्ने टिभीको उद्घाटन गर्ने कार्यक्रम रहेको भनिए पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन । शुक्रबार मण्डिखाटारमै प्रधानमन्त्री देउवासहितका उच्च राजनीतिक नेताहरू जाने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो । त्यसपछि रामदेवको टोली स्याङ्जा जाने कार्यक्रम छ। शुक्रबार नै फर्किएर चन्द्रागिरि जाने, शनिबार बनेपा जाने, त्यहाँबाट फर्किएपछि माइतीघरनजिकै पतञ्जलीको कार्यालयमा पुग्ने कार्यक्रम छ ।

त्यो कार्यक्रम सकेर रामदेव टोली आइतबार भारत फर्किने कार्यक्रम रहेको बताइएको छ ।