धर्ना बिच पनि प्रधानन्यायाधीशले १० इजलासमा १८६ मुद्दाको पेसी तोके
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । धर्नाको बाबजुत पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । उहाँले आफ्ना लागि कुनै पनि इजालास तोक्नुभएको छैन । ती पेसीमध्ये सात संयुक्त र दुई एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो ।
सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।
प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदनहरु पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुडाल, बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्माले इजलसामा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहनुभएको छ ।
अदालतमा मुद्दाको चापअनुसार नियमित रुपमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।
सर्वोच्चको समस्या सर्वोच्चबाटै समाधान होस् : प्रचण्ड
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस् भन्ने चाहेको बताएका छन्। प्रचण्डले पाँच दलीय गठबन्धनको समन्वयन समितिको बैठकले सर्वोच्च अदालत विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने मनसाय राखेको बताएका हुन्।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएका हुन्। प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै देशको सर्वोच्च संवैधानिक निकाय सर्वोच्चको विवाद सर्वोच्चबाटै सक्दो चाडो समाधान हुने विश्वास व्यक्त गरे।
प्रचण्डलाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार सार्वजनिक बिदा दिइएपछि आलोचना भएको छ ।
मेयर अशोककुमार मण्डलले जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।