चर्चित बक्सर म्यानी प्याकियो फिलिपिन्सको राष्ट्रपतिमा उठ्ने
एजेन्सी । फिलिपिन्सका विश्व चर्चित बक्सर म्यानी प्याकियोले बक्सिङ खेलबाट यसैवर्ष सन्यासको घोषणा गरेका थिए । ४२ वर्षका प्याकियोले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा उठ्न खेल जीवनबाट सन्यास गरेको बताएका थिए ।
उनले २६ वर्षको बक्सिङ जीवनपछि सन्यास लिँदा दुःख लागेको बताएता पनि जीवनको नयाँ अध्याय सुरुवात गर्न लाग्दा खुशी लागेको उल्लेख गरेका थिए । प्याकिओ ८ भिन्न डिभिजनमा बक्सिङ च्याम्पियन बन्ने विश्वका एक्ला खेलाडी हुन् । पीडीपी–लबान पार्टीले प्याकियोलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रताव गरेको छ । सो प्रस्ताव प्याकियोले स्वीकार गरेका छन् । फिलिपिन्सका नागरिकले सरकारमा परिवर्तन चाहेको बताउँदै प्याकियोले हालै भनेका छन्, ‘म एक फाइटर हुँ, म रिङ भित्र र रिङ बाहिर पनि लडाकु नै हुनेछु ।’
उनका अनुसार फिलिपिन्समा यतिबेला इमानदारिता, प्रेम र पारदर्शिताका साथ जनताको सेवा गर्ने सरकारको आवश्यकता छ । प्याकियोले आफू राष्ट्रपति बनेमा गरिबी हटाउन र भ्रष्टाचार रोक्ने काम गर्ने बताएका छन् । उनले भ्रष्टाचार गरेको ठहर भएका राजनीतिज्ञलाई समेत जेल हाल्ने चेतावनी दिएका छन् । उनले भनेका छन्,‘मेरो पुरै जीवनमा मैले कसैसँग झुकेको छैन र झुक्ने छैन ।’ सीएनएनसँग गत बिहीबार दिएको अन्तर्वार्तामा डुटेर्ते सरकारका भ्रष्ट नेताहरुलाई आफू सरकारमा चुनिए कारवाही गर्ने बताएका हुन् ।
वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्ते सन् २०१६ मा निर्वाचन जितेर राष्ट्रपति बनेका थिए। उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । तर आलोचकहरूले डुटेर्तेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको बताउने गरेका छन् ।उनको कार्यकालमा देशमा लागुऔषध तस्करविरद्ध प्रहरी अभियान चलेको थियो । यस क्रममा प्रहरीले निर्दोष नागरिकहरुको गोली हानी हत्या गरेको विभिन्न प्रतिवेदन सार्वजनिक गरेका छन्। डुटेर्तेले प्रहरीलाई गोली चलाउन आदेश नै दिएका थिए ।
राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेका प्याकियोले डुटेर्ते शानलाई चुनौती दिने निश्चित छ । प्याकियो विश्वले मन पराएका व्यक्ति हुन् । उनको लोकप्रियता फिलिपिन्समा पनि उत्तिकै छ । डुटेर्तेको शासनबाट डराउने गरेका नागरिकको लागि प्याकियो उपयुक्त राष्ट्रपति हुनसक्छन् ।