
कोभिड-१९ को कारण रोजगारी गुमाएका अतिविपन्न परिवारलाई १० हजार दिने प्रक्रिया शुरू
कोभिड-१९ को महामारीको समयमा रोजगारी गुमाएका अतिविपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँ दिने प्रक्रिया शुरू भएको छ । अर्थ मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी अतिविपन्न परिवारलाई राहत दिने प्रक्रिया थालेको हो। यसका लािग १५ दिनभित्र आ-आफ्नो वडा कार्यालयमा निवेदन दिन आह्वान गरेको छ ।
यसमा रोजगारी गुमाएका कुनै पनि परिवारले निवेदन दिन सक्नेछन् । आफूले बसोबास गरेको वडा कार्यालयमा निवेदन सकिनेछ । कम्तिमा ६ महीनादेखि सम्बन्धित वडामा बसेको हुनुपर्नेछ । यसमा परिवारको एक जना सदस्यले निवेदन दिए पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । विगतमा गर्दै आएको रोजगारी गुमाएका र नयाँ रोजागरी नपाएका मजदुर वा कामदारले निवेदन दिन सक्नेछन् ।
त्यस्तै, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला-मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरियाले निवेदन दिन पाउनेछन् ।
यससँगै कोभिड-१९ संक्रमणका कारण आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेका परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले पनि राहत पाउनेछन् ।




