एमाले र गठबन्धनबीच तनाव : सिन्धुली सदरमुकाममा कर्फ्यु
काठमाडौं । सिन्धुली जिल्लाको सदरमुकाममा निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । सदरमुकाममा आयोजित कार्यक्रममा नेकपा (एमाले) महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएको भन्दै सत्ता गठबन्धन पक्षले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
कमलामाई नगरपालिकास्थित स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाडोला पुल, हस्पिटल रोड क्षेत्रमा आज बिहान ११ देखि राति १२ बजे सम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ । सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बाह्रखरीसित बताए ।
सदरमुकामस्थित सिन्धुलीगढी बालउद्यान पार्कको उद्घाटन र बीपी कोइराला र पुष्पलाल श्रेष्ठकोे सालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई प्रमुख अतिथिको रूपमा बोलाउँदा विरोध भएको जनाइएको छ ।