सर्वोच्च अगाडि तनाव जारी, बहिष्कारबीच प्रधानन्यायाधीशले पेसी तोके
सर्वोच्च अदालतमा भइरहेको गतिरोध अन्त्य हुनुपर्ने मागसहित आन्दोलित अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नारा लगाउँदै नेपाल बार एसोसिएसन परिसरको गेटमा पुगेका जनता स्वतन्त्र आयोगका अभियन्ता तारा बरालसहित तीनजनालाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो ।
उनीहरुले न्याय प्रणाली जोगाउन भन्दै प्रदर्शन गरिरहेका छन् । १६ दिनदेखि अदालतमा जारी गतिरोध हट्नुपर्ने माग गर्दै उनीहरुले सर्वोच्च अदालत परिसर र माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए ।
यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने सबै खालका मुद्दामा पेसी तोकेका छन् । न्यायाधीशहरूको बहिष्कार र कानुन व्यवसायीको आन्दोलनबीच प्रधानन्यायाधीश जबराले मंगलबारका लागि १० वटा इजलास गठन गरेका हुन् । जसमा सबै खालका मुद्दामा पेसी तोकिएको छ ।
मंगलबार आफ्नो मात्रै एकल इजलास गठन गरेका जबराले बाँकी ९ वटा संयुक्त इजलास गठन गरेका हुन् । यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले आन्दोलन थालेपछि सर्वाेच्च अदालतमा मुद्दा सुनुवाइ राेकिएकाे छ ।
पछिल्लो एक साताबाट बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका न्यायाधीशहरू अन्य मुद्दा नहेर्ने अडानमा छन् ।