भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतमा आचार्य राजदूत सिफारिस
काठमाडौँ — सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।
शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन् भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोग प्रमुख थिए । प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक थिए ।
अब सरकारले संसदीय सुनुवाइका लागि पठाउने छ । सुनुवाइपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाउने र त्यसपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ ।
सरकारले सिफारिस शर्मा अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । उनी अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन् भने संविधान निर्माणका क्रममा उनले राज्यको स्रोत साधनको बाँडफाँडका विषयमा संविधानसभालाई विज्ञका रुपमा सहयोगसमेत गरेका थिए ।
यस्तै अमेरिकाका लागि सिफारिस भएका प्राध्याक खत्री साउथ एसिया सेन्टर फर पोलेसी स्टडिज काठमाडौँका कार्यकारी निर्देशक, रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडिज कोलम्बोका पूर्व कार्यकारी निर्देशक र कार्यकारी निर्देशक इन्स्टिच्युट अफ फरेन अफयेर्स काठमाडौँका कार्यकारी निर्देशक हुन् । उनले सिटी कलेज न्यूयोर्क र कोलम्बिया युनिभसिर्टीबाट स्नातकोत्तर गरेका छन् । उनी लन्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ स्कलरसमेत रहिसकेका छन् ।
यस्तै बेलायतका सिफारिस आचार्य वरिष्ठ कूटनीतिज्ञ हुन् । उनी सँयुक्त राष्ट्र संघको उपमहासचिबसमेत रही सकेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघीय कार्यालयमा नेपालका स्थायी प्रतिनिधिसमेत रहेका छन् । आचार्य नेपालका वरिष्ठ करिअर डिप्लोम्याट हुन् ।