कांग्रेसको महाधिवेशन तिथि फेरि परिमार्जन भयो
सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि परिमार्जन गरिएको छ । केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशन मिति परिमार्जन गरेको हो ।
समितिले मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरे पनि मिति सार्वजनिक गरेको छैन । स्रोतले बैठकमा भदौ अन्तिम साता केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ मिति तय गरिएको जानकारी दिएको छ ।
निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले केन्द्रीय महाधिवेशनको नयाँ तिथि तय गरिएको पुष्टि गरे। तर, उनले कार्यतालिकाका बारेमा अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए । उनकाअनुसार बैठकले बाँकी रहेका १३ जिल्लाहरुमा कार्तिक २७ गतेबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
‘कार्तिक २७ गतेबाट अधिवेशन सुरु नभएका जिल्लाहरुमा वडा अधिवेशन सुरु हुन्छ,’ घिमिरेले नेपालखबरसँग भने, ‘लगातार अधिवेशन गर्दै जान्छौं।’
निर्वाचन समितिले तोकेको नयाँ मिति कार्यान्वयनका लागि पार्टीको कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने भएकाले अहिले नै मिति भन्न नमिल्ने समितिको भनाइ छ । तर, समिति स्रोतले कात्तिक २७ गते १३ जिल्लाहरुमा वडाअधिवेशन, ३० गते पालिका अधिवेशन, प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ६, जिल्ला अधिवेशन मंसिर १०, प्रदेश अधिवेशन मंसिर १६–१७ र केन्द्रीय महाधिवेशन मंसिर २७–२९ काठमाडौंमा गर्ने गरी नयाँ तिथि निर्धारण गरिएको जनाएको छ ।
यस्तो छ नयाँ कार्यतालिका
विवादित १३ जिल्लामा – कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन
मंसिर ३ गते – प्रदेश सभा अधिवेशन
मंसिर ६ गते – संघीय निर्वाचन क्षेत्र अधिवेशन
मंसिर १० गते – जिल्ला अधिवेशन
मंसिर १६ र १७ गते – सात वटै प्रदेशको अधिवेशन
मंसिर २७ देखि मंसिर २९ गते – केन्द्रीय महाधिवेशन
यसअघि साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ९–१३ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय भएको थियो ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस पदाधिकारी बैठकले तल्लो तहका अधिवेशनहरू छिटो गर्न र समय नपुग्ने भएमा मंसिरभित्रै महाधिवेशनको नयाँ मिति प्रस्ताव गर्न निर्वाचन समितिलाई निर्देशन दिएको थियो ।