नेपाललाई हराउँदै भारत बन्यो आठौंपटक दक्षिण एसियाली च्याम्पियन
माल्दिभ्स । भारतले दक्षिण एसियाली फुटबल(साफ)च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार राति सम्पन्न फाइनलमा नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दै भारत दक्षिण एसियाको च्याम्पियन बन्यो । पहिलो हाफमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफको सुरुवातमै नेपालले दुई मिनेटमा दुई गोल ब्यहोर्यो ।
४८औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले हेडर गोल गर्दै भारतलाई अग्रता दिलाए । लगत्तै २ मिनेटपछि सुरेश सिंहले डी बक्सभित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे । यस्तै अतिरिक्त समयमा सहल अहमदले गोल गर्दै भारतको जित पक्का गरे ।
योसँगै पहिलोपल्ट साफको फाइनल पुगेको नेपालको उपाधि जित्ने सपना पुरा गर्न सकेन । दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमै रोकिएको थियो ।
यसपटक भने फाइनलमा नेपाल चुक्न पुग्यो । साफमा भारत सर्वाधिक सफल टोली हो। योसँगै भारतले ८ पटक साफको उपाधि जितिसकेको छ । अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफको उपाधि जितेको थियो ।
त्यसबाहेक माल्दिभ्सले दुई, बगंलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक साफको उपाधि जितेका छन् ।