साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा, प्रशिक्षण छाड्ने अलुमताइरीको घोषणा

एजेन्सी । फाइनल उत्रनका लागि बराबरी गरे पुग्ने नेपालले त्यही नतिजा निकाल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । यो ऐतिहासिक सफलता नेपाली टोलीले बंगलादेशविरुद्धको खेलको ८८ औं मिनेटमा सम्भव तुल्याएको थियो ।

खेलको नवौ मिनेटमा नै अस्वभाविकरुपमा पछि परेको नेपालले बराबरीमा उभिन ८८ औं मिनेटसम्म कुर्नु पर्यो । ७९ औ मिनेटमा डिबक्स बाहिर आएर हातले बल रोक्दा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएपछि बगलादेश १० खेलाडीमा सीमित बनेको थियो । निरन्तर बंगलादेशको पोलमा दबाब दिइरहेको नेपालले खेलको ८८ औ मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरी गरेको हो । पेनाल्टीलाई अञ्जन विष्टले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए ।

यस अघि पाँच पटक नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । आजको खेलमा अधिकांश समय गोल नियन्त्रणमा लिए पनि नेपाली खेलाडी बारम्बार चुक्दै आएका थिए । प्रशिक्षक अब्दुल्ला अल्मुतारीले सुरुदेखि नै आक्रमक खेल खेलाएका थिए ।

यस अघि खेलको नवौं मिनेटमा बंगलादेशका जर्सी नम्बर सातका खेलाडी सिमोन रेजाले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । माल्द्धिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले जितको दावी गरेपनि बराबरी नै काफी भएको छ फाइनल उत्रनका लागि । अब नेपालले आयोजक माल्द्धिभ्स र भारतबीचको विजेतासंग उपाधिका लागि भिड्ने छ ।

प्रशिक्षक अब्दुल्लाहद्वारा नेपाल छाड्ने घोषणा

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले साफ च्याम्पियनसिपपछि नेपाल छाड्ने घोषणा गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछिको पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।

उनले साफको फाईनलमा नेपाली टिमका लागि आफ्नो तर्फबाट अन्तिम खेल हुने बताउदै आफू नेपाल नफर्किने उल्लेख गरेका छन् । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पारेर पहिलोपटक फाइनलमा पुगेको हो ।

५ राष्ट्र सहभागी साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको छ ।