पूर्व डीआईजी रमेश खरेलले नयाँ राजनीतिक पार्टी खोल्ने

कांग्रेस र कम्युनिस्टले केही गरेनन्, रत्नपार्कबाट अपिल गरेर राजनीतिक दल खोल्दैछु

काठमाडौं । पूर्व डीआईजी रमेश खरेल राजनीतिक दल खोल्ने तयारीमा लागेका छन् । उनले खुला बहस गरेर जनताको अपेक्षा अनुसारको पार्टी खोल्न लागेको जानकारी दिए । “हामी कांग्रेस कम्युनिस्टबाट केही हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं । पालैपालो लुट्नेबाहेक केही काम गर्दैनन् । यही कुरा देखेकाले साथीहरुसँग दल खोल्नका लागि छलफल गरिरहेको छु,” उनले भने ।

खरेलले समय अभावका कारण सबै ठाउँमा जान नसके पनि सातै प्रदेशमा पुगेर जनताको धारणा बुझ्ने र त्यसपछि पार्टी दर्ता गर्ने बताए । “७७ जिल्लाका नागरिकको धारणा बुझेर हामी विचार लिन्छौं । कस्तो राजनीतिक पार्टी खोल्दा उपयुक्त हुन्छ ? के गर्दा देशमा शुसासन कायम हुन्छ भनेर हामी मुख्य–मुख्य ठाउँमा जान्छौं । जनताको कुरा बुझ्छौं,” उनले भने । आइतबार दिउँसो २ बजे रत्नपार्कबाट पार्टी खोल्न लागिएको अपिल गर्ने उनको भनाइ छ । पार्टीको नाम नेपाल सुशासन पार्टी राख्ने उनले जानकारी दिए । “देश सुशासन नै नभएर बिग्रिएको हो । त्यसैले हामीले नेपाल सुशासन पार्टी बनाउने सोच बनाएका छौं,” उनले बताए ।

पूर्व डीआईजी खरेलले धर्मनिरपेक्षता, संसदीय प्रणालीका विषयमा पनि जनताको राय लिने बताए । दल खोल्ने सोच कसरी ? खरेलले नेपाल प्रहरीको आईजीपी नबन्ने भएपछि डीआईजीबाट राजीनामा दिएका थिए । उनले अहिले दल खोल्ने तयारी गरेका हुन् । उनले दल खोल्ने प्रक्रियाबारे निर्वाचन आयोगमा पुगेर जानकारी लिइसकेका छन् ।

२९ वर्ष प्रहरी सेवामा रहेर राजनीतिक दल खोल्ने सोच कसरी आयो ? “२९ वर्ष नेपाल प्रहरीमा रहेँ । उनी (नेता)हरुलाई भोगेको छु । उनीहरुसँग काम गरेको छु । उनीहरुको सोच, मनस्थती बुझेको छु । उनीहरुमा भ्रष्टाचारको लत कसरी बसेको छ भन्ने थाहा छ,” पूर्व डीआईजी खरेलले भने, “जेलमा बसेको पहिलो पुस्ताबाट पनि देशले केही पाएन । दोस्रो, तेस्रो पुस्ता क्याम्पसमा क्याम्पस प्रमुखको टेबल ठोकेका छन्, कालोमोसो दलेका छन् । टायार बाल्ने, रेलिङ भाँच्ने काम गरेका छन् । उनीहरुबाट के अपेक्षा गर्ने ? उनीहरुको ग्रुमिङ नै ठिक छैन । यिनै कुराहरु देखेर दल खोल्ने सोच आयो ।”