एनआरएन अध्यक्ष पदका लागि बद्री केसीको उम्मेदवारी घोषणा

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगाउने बताएका छन् । ‘यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएका छु’ केसीले भने । आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ । नेतृत्व चुन्नका लागि विश्वभर रहेका संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट एकैसाथ भोट गर्नेछन् ।

केसी संघको दुई कार्यकाल महासचिव, एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । कोरोना महामारीमा गैरआवासीय नेपाली संघले दुई लाख भन्दा बढी नेपालीलाई सहयोग र उद्धार गरेको उनले बताए । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने अध्यक्षका उम्मेदवार डा. केसीले बताएका छन् ।

‘अन्तर्राष्ट्रिय श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरि छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गर्नेछौं’ केसीले भने, ‘नेपाल सरकारको वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न पैरवी गरिनेछ ।’ आफ्नो दुई वर्षे कार्यकालमा नेपालमा लगानीको क्षेत्र पहिचान गरी सुरक्षित लगानी प्रवर्द्धनका लागि संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने उनले बताए ।

‘नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइनेछ । हाल १० अर्ब सुरुवाती पूँजी रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइनेछ र, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा (आइपोओ मार्फत) जोडिनेछ’ डा. केसीले भने ।

डा. केसीले पत्रकार सम्मेलनमा सम्बोधन गरेको प्रतिबद्धतापत्रको पूर्ण पाठ :