सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डाबारे सहमति, कसले कति मन्त्रालय

काठमाडौं । मन्त्रीको संख्या र मन्त्रालय भागवण्डाको टुंगो लागेपछि झण्डै तीन महिनापछि सरकारले पूर्णता पाउने भएको छ । सम्भवत बिहिबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।

यसअघि मौखिक सहमति भएको भन्दा फरक तरिकाले मन्त्रालय भागवण्डाको सहमति बनेको छ । यसअघि काँग्रेसले ७ र सत्ता गठबन्धनका बाँकी दलले ६-६ मन्त्रालय पाउने सहमति भएकोमा परिवर्तन भएको छ ।

काँग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ । जसमा ३ मन्त्री र एक राज्यमन्त्री अहिले नै छन् । अब उसले सञ्चारसहित ४ मन्त्री पाउनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकी रहेको १, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट २ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबाट १ जना मन्त्री बन्नेछन् । पौडेलले ३ मन्त्री दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको भागमा ५ मन्त्रालय परेको छ । उसले अर्थ र ऊर्जा पाइसकेकोमा अब शिक्षासहितका मन्त्रालय पाउने भएको छ ।

नेकपा एस र जसपाले ४-४ मन्त्रालय पाउने भएका छन् । एसको भागमा पर्यटन, उद्दोग, शहरी विकासलगायतका मन्त्रालय परेका छन् ।

जसपाले भौतिक, वन, कृषि र सामान्य प्रशासन पाउने तय भएको छ ।

माओवादी, नेकपा एस र जसपाले १-१ राज्यमन्त्री समेत पाएका छन् ।