युवा फुटबलर कुञ्जन गुरुङले लण्डन म्याराथन दौडेर ४ हजार पाउण्ड उठाए

स्वास्थ्य सेवाका लागि कार्यरत संस्था स्विइनफेन च्यारिटेवल ट्रष्ट यूकेका लागि च्यारिटी संकलन गर्न लण्डन म्याराथनमा सहभागी भएका कुञ्जनले ४ हजार ५१ पाउण्ड अर्थात नेपाली रुपैयाँ करिव ६ लाख ५० हजार संकलन गरेका छन् ।

लन्डन । हिजो अक्टोबर ३ तारिख २०२१ साल आईतवार लन्डनमा सम्पन्न विश्व प्रसिध्द लन्डन म्याराथन २०२१ मा सहारा यूके एफसीका टिम क्याप्टेन युवा फुटबलर कुञ्जन गुरुङले म्याराथन दौडेर परोपकारी संस्था- टेलीमेडिसिन स्विनफेनका लागि ४ हजार ५१ पाउण्ड संकलन गर्न सफल भएका छन् । पहिलो पटक म्याराथनमा सहभागी भएका युवा फुटबलर कुञ्जनले ४२.१ किमि दौड ३ घन्टा ४४ मिनेटमा पुरा गरेका थिए ।

सफलता पूर्वक दौड सम्पन्न गरेपछि कुन्जन खुशी हुँदै आफ्नो सफलताको श्रेय मुख्य गरेर आफ्नै अभिभावक र परिवार रहेको कुरा बताउनुभयो । उनले जुन उध्देश्यको लागि म्याराथनमा सहभागी भएको थिएँ सो उध्देश्य प्राप्त गर्न सकेकोमा र सफल बनाइदिनु भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो । जिवनकै पहिलो पटक यती लामो दुरीको दौड पुरा गर्न सकेकोमा गर्ब लागेको अनुभब सुनाउदै सफलताको श्रेय र प्रेरणा आफ्नो बुवा कुल्साङ गुरुङ भएको कुरा बताउनुभयो । म्याराथनका लागि धेरैले खुलेर सहयोग गर्नुभएको छ, मलाई हौसला दिनु भएको छ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यवाद दिन चाहन्छु ।” कुन्जनले भन्नुभयो ।

त्यस्तै सहारा यूकेको अध्यक्ष्य कुमार गुरुङ पनि कुन्जनको सफलता देखेर निक्कै प्रभावित भएको कुरा खबर यूकेलाई सुनाउनु भयो । “सहारा यूकेको लागि यो एउटा ठुलो उपलब्धी हो । साथै कुन्जन जस्तो युवाहरुको लागि यो एउटा मार्गदर्शन तथा प्रेरणा पनि हो” अध्यक्ष्य गुरुङले भन्नुभयो । अध्यक्ष गुरुङले आफ्ना छोरा छोरीलाई खेलकुद संगै सामाजिक अभियानका लागि समर्पित गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो र कुञ्जनको यस कार्यले अभिभावकहरुमा चेतना जागृत गराएको छ भन्ने विश्वाश अध्यक्ष्य गुरुङलाई लागेको कुरा सुनाउनुभयो ।

त्यस्तै कुन्जनको बुवा कुशाङ पनि छोराको प्रगती देखेर खुशी हुनुहुन्छ । कुशाङ आँफै पनि खेलाडी; धावक हुन । विश्वकै चर्चित मलेशियाको माउन्ट किनावुलुका किर्तिमानी धावक हुन । कुशाङ हाल सहारा युकेका उपाध्यक्ष र तमु धिं यूकेको खेलकुद सचिब पनि हुन । गत जुलाई महिनामा उहाँकै संयोजकतामा तमु धिं यूकेले ब्रिहत रुपमा गोरखाकप सम्पन्न गरेको थियो । “मैले मेरो छोरा भनेर प्रशंसा गरेको होइन आजको यूवाहरु समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणाको सन्देश छर्नु नै महत्वपूर्ण हो, यो कार्य विदेशमा बस्ने हाम्रा दाजुभाई जसको छोरा–छोरीले गरे पनि हामी त्यसलाई उत्प्रेरणा दिनुपर्छ सहयोग गर्नुपर्छ।”- कुशाङले भन्नु भयो ।

यस पटक सम्पन्न लण्डन म्याराथनमा ४० हजार भन्दा वढिको सहभागिता रहेको थियो । प्रोफेसनल तर्फको दौडमा इथोपियन धावक सिसे लेम्माले दुई घण्टा ४ मिनट १ सेकेन्डमा पुरा गरी बिजयी हुनुभयो । त्यस्तै केनियाको भिन्सेन्ट किन्चुम्बा दोस्रो र इथोपियाकै मोसिनेट जर्मेउ तेस्रो भएको थिए ।

स्मरण रहोस- स्विइनफेन च्यारिटेवल ट्रष्ट यूके स्वास्थ्य क्षेत्रमा परोपकारी काम गर्ने यूकेमा दर्ता भएको एउटा परोपकारी संस्था हो । यस संस्थाले विश्वभरी नै स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दछ । नेपालको पर्वत फलेबास चारभञ्ज्याङ खाल्टेमा करिव ४० लाख खर्च गरेर स्वास्थ्य सेवा अन्तर्गतको टेलिमेडिसन सेन्टर स्थापना गरेको छ भने नेपालको धादिङ लगायतका जिल्लामा समेत यस्तै प्रकारका सेन्टरहरु स्थापना गर्ने भएको छ । च्यारिटी मार्फत संकलन गरेको रकमले स्वास्थ्य उपचार नपाएर कठिन अवस्थामा रहेकालाई राहत प्रदान गर्दै आइरहेको छ ।