अदालतले जनकपुर बमकाण्डको आरोपी संजय साह ‘टकला’को फैसला उल्टायो

जन्मकैदको फैसला सात वर्षमा झार्‍यो

जनकपुरधाम । बम विस्फोटको घटनामा जन्मकैदको सजाय पाएका पूर्व राज्यमन्त्री संजय साहको कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ । साढे नौं वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको मिथिला आन्दोलनमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका पूर्व मन्त्री सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्टाउँदै जन्म कैदको फैसलालाई घटाएर सात वर्ष सजाय हुने फैसला गरेको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले आइतबार अबेर राति उक्त फैसला गरेको हो । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आइतबार साँझ न्यायाधीशद्वयले लेखेका छन् । यसअघि सोही मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय तोकेको थियो । उनी हाल नख्खु स्थित कारागारमा छन् ।

ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरदार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ । बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो ।

विस्फोटमा परी जनकपुर नगरपालिका–१० बस्ने झगरुलाल दास कथबनिया, जनकपुर ८ बस्ने विमल शरण, महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रञ्जुदेवी झा, जनकपुर ८ बस्ने सुरेश उपाध्याय र दीपेन्द्र दास गरी कुल पाँच जनाको मृत्यु भएको थियो । विस्फोटनमा परेर ३२ जना घाइते भएका थिए ।

२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्रीसमेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो। जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो । साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा धनुषाको क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। बम काण्ड घटना भएपछि उनी मुख्य योजनाकारको आरोपमा पक्राउ परेका थिए ।

को हुन् साह ?

२०६४ सालको संविधानसभामा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र दोस्रो संविधानसभाको निर्वाचनमा सद्भावना पार्टीबाट जनकपुरबाट प्रत्यक्ष चुनाव जितेका थिए । पहिलो पटक चुनाव जितेपछि विजय गच्छदार भौतिक पुर्वाधार मन्त्री हुँदा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीसमेत भएका थिए ।

दोस्रो पटक चुनाव जितेको केही दिनमै उनीविरुद्ध संचार उद्यमी अरुणकुमार सिंघानियाको हत्या आरोप र जनकपुर बम काण्डको अभियुक्त बनाइएको थियो। साहलाई प्रतिवादी बनाइएपछि उनी सांसद पदमा बहाल रहेकै बेला भारतको दिल्ली फरार भएका थिए । साह पक्राउ परेपछि उनलाई तत्कालीन सभामुख सुभाष नेम्वाङले सभासद पदबाट निलम्बन गरेका थिए ।

फोरमबाट पहिलो पटक सांसद बनेपनि फोरम विभाजित हुँदा उनी विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा आवद्ध भए । पछि गच्छदारको पार्टी पनि छोडेर उनले आफ्नै नेतृत्वमा मधेशी क्रान्ति फोरम गठन गरेका थिए । अन्त्यमा उनी राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा आवद्ध भएका थिए। केन्द्रीय सहसंयोजक बनेर उनले दोस्रो संविधानसभामा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट टिकट पाएका थिए । २०७० सालमा भएको प्रतिनिधि सभाको चुनावमा साहले जेलबाटै नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई समर्थन गरेका थिए भने राजेन्द्र महतोलाई हराउन भन्दै आफ्ना समर्थकहरुलाई परिचालित गरेका थिए ।