तमू सांस्कृतिक प्रतिष्ठान नेपाललाई सहयोग गर्न तमूधिं यूकेको वार्षिक परोपकारी रात्रिभोज सम्पन्‍न

स्रोत- गोरखा मिडिया

लन्डन २६ सेप्टेम्बर । तमू सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमू जेहन्दार गरिब विद्यार्थी छात्रवृत्ति अक्षयकोषको सहयोगार्थ तमु धिं यूकेले च्यारिटी रात्रिभोज भव्यताका साथ सम्पन्न गरेको छ ।

तमूधिं यूकेका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा सेप्टेम्बर २५ तारिख शनिबार २०२१ को साँझ कार्यक्रम आयोजना गरिएको हो । ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ को नारालाई जिवन्त बनाउने उद्देश्यले आयोजित कार्यक्रम अध्यक्ष (सभाध्यक्ष) हित काजी गुरुङ तथा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले पानसमा दीप प्रज्ज्वोलन गरी समुद्घाटन गरेका हुन् । महासचिव तथा च्यारिटी कार्यक्रम संयोजक परशु गुरुङले संचालन गरेको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजाई वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा भिंडियोमार्फत तमू सांस्कृतिक प्रतिष्ठान नेपालका वर्तमान अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने संयोजक परशु गुरुङले पावर प्वाइन्टमार्फत प्रतिष्ठानको क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा अक्षयकोषको लागि ६ जना व्यक्तित्वहरूले प्रतिव्यक्ति १ लाख २५ हजार रुपैयाँ र व्यवसायी तथा उद्यमी अरुण चौधरीबाट २ लाख ५० हजार प्रदान गरी (२ वटा नानीहरू) निजी छात्र वा छात्रा पढाउने प्रतिबद्धता राखेका छन् भने संस्थागत रुपमा तमू धिं लन्डन इकाई र तमू धिं यूकेका आमा समूहले एक-एक नानीहरु पढाउने भएका छन् ।

फोटो सौजन्य- मिलन तमु, गोरखा मेडिया

त्यस्तै गरी आयोजक तमूधिं यूकेबाट ४ जना नानीहरुलाई पढाउने बराबरको रकम उपलब्ध गराउॅने भएका छन् । समग्रमा भन्नु पर्दा यस पटक तमूधिं यूकेले आयोजना गरेको कार्यक्रमबाट १४ जना नानीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउने भएका छन् । संभवत यो वर्ष नै होला सबैभन्दा धेरै छात्रवृत्ति उपलब्ध गराउन सफल भएको तमु धिंले जनाएको छ ।

कार्यक्रममा सरिक भएका नेरू. १ लाख २५ हजार प्रदान गर्ने व्यक्तित्वहरुलाई अध्यक्ष हित काजी गुरुङले खादा लगाई सम्मान गरेका थिए । कार्यक्रमको लागि खानाको प्रायोजन TDUK का ट्रष्टिज सूर्जे गुरुङ (Gurkha Palace & Restaurant Farnborough) र आजीवन सदस्य भिम गुरुङ (Gurkha Kitchen Aldershot) ले गरेका थिए । Desert को प्रायोजक आमा समूहकी उपाध्यक्ष सन्ध्या गुरुङ थिइन् ।
Plate, spoon, tissue paper cups आदि कोषाध्यक्ष कमल गुरुङले प्रायोजन गरेका थिए । रात्रिभोजका लागि व्हिस्की र वाईनको व्यवस्था आमा समूहकी अध्यक्ष मन्जु सीता गुरुङ र बियर नन्दा गुरुङले गरेका थिए ।

फोटो सौजन्य- मिलन तमु, गोरखा मेडिया

त्यस्तैगरी रेस्टुरेन्टबाट खाना ल्याउन र सरसामान पुऱ्याउनमा सहयोग गर्ने कार्यसमितिका सचिव प्रेम गुरुङ, सदस्य गुरुङ, डा. बिशाल गुरुङ र टंक मार्टिन गुरुङलाई धन्यवाद दिइएको छ । महासचिव एवं च्यारिटी कार्यक्रम संयोजक परशु गुरुङले भने, ‘विशेषगरी महान् व्यक्तित्वहरू जसले स्वेच्छाले दिनु भएको आर्थिक सहयोगबिना यो कार्यक्रम सफल हुन सम्भव नै थिएन । त्यसको लागि जति धन्यवाद दिए पनि कमै होला । सम्पूर्ण सहयोगी दाताहरु धन्यवादका पात्रहरु हुनुहुन्छ ।’

तमू धिं यूकेले सोही दिन प्रतिष्ठानको यो रात्रीभोजबाहेक कार्यक्रमहरुको आयोजना गरिएको थियो । करिब १ बजे अपराह्न सुरू भएको बैठकमा गत अगष्ट २९ तारिख सम्पन्न भएको नेपाली मेलाका समीक्षा बैठकमा संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले राखेका थिए भने आगामी महिना अक्टूबर २३ तारिख आयोजना हुन गइरहेको तमू धिं यूकेको च्यारिटी रात्रिभोजको पूर्वतयारीका लागि संयोजक उपाध्यक्ष तुलाराम गुरुङबाट जानकारी गराइएको थियो । त्यस्तै डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङको स्मृति दिवस पनि सम्पन्न गराइएको थियो ।

अन्तमा संयोजक गुरुङले यस कार्यक्रममा संकलित रक़मको चेक अध्यक्ष हित काजी गुरुङलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष गुरुङले आफ्नो मन्तव्य राख्दै कार्यक्रममा उपस्थित भएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनु भई औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।