आजदेखि काठमडौंमा चाडपर्व लक्षित बजार अनुगमन
काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा बजार अनुगमन सुरु हुँदैछ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयोजनमा आजदेखि बजार अनुगमन गर्न लागिएको हो ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयसँगै वाणिज्य विभाग, खाद्य विभाग, औषधि विभाग, गुणस्तर तथा नापतौलसहितका नियमनकारी निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गर्न लागिएको पौडेलले जानकारी दिए। अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रमा अनुगमन गर्नेछ ।
काठमाडौं महानगरपालिकाले पनि चाडपर्वको बेला उपभोक्तामाथि हुनसक्ने ठगी नियन्त्रणको लागि बजार अनुगमन सुरु गरिएको जनाएको छ ।चाडपर्वको बेला धेरै कारोबार हुने मासु, चिनी, दालचामसहितका खाद्यान्न, लत्ताकपडा, मसला लगायतका बस्तुलाई केन्द्रीत गरेर बजार अनुगमन गरिने स्थानीय प्रशासनले जनाएको छ ।