ओलीको रिटमा सर्वोच्चले मगायो सक्कल फाइल

काठमान्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदमाथिको कारबाही नभएको र माधव नेपालकाे नयाँ पार्टी दर्ताविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल मागेको छ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्दाका सक्कल कागजात माग गरेको हो ।

एमाले अध्यक्ष ओलीले उक्त पार्टी खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले आयोगले दल दर्ता गर्दाका भदौ ९ गते भएको निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको हो । यस्तै १४ सांसदलाई कारबाही नगर्ने गरी भएको सभामुखको भदौ १३ गतेको निर्णय पनि संसद सचिवालयबाट झिकाउन आदेश दिएको छ ।

लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही नगर्ने निर्णयको पनि सक्कल फाइल माग गर्ने आदेश भएको छ। फायल आएपछि मात्रै अन्तरिम आदेश हुने नहुने निर्णय सर्वोच्चले गर्ने भएको छ ।