संसदमा एमालेको अवरोध यथावत, विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन् । मंगलबार दिउँसो १ बजेदेखि बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले सांसदहरुले आसनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

एमालेको अवरोधबीच बैठकको आसनबाट रोष्ट्रमसम्म पुगेर अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे । अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावमा केही बेर छलफलपछि सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरे ।

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएको हो । त्यसयता सभामुख सापकोटाको राजीनामा माग गर्दै एमालेले संसदमा अवरोध गरिरहेको छ । गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्वीप उलंघन गरेको आरोपमा १४ सांसदमाथि गरेको कारबाहीको सूचना संसदमा टाँस्नुपर्ने अडान एमालेले राखेको छ । तर सभामुख सापकोटाले एमालेको उक्त निर्णय निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ता नगरुन्जेल थन्काइदिएका थिए ।

आयोगले माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ता गराइसकेपछि सभामुख सापकोटाले १४ सांसदमाथि कारबाही गर्नुनपर्ने निर्णय लिएका थिए । सभामुखको त्यही निर्णयपछि एमाले संसदमा आन्दोलित छ । सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नराखी अघि बढेको आरोप पनि एमालेको छ ।

प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ ।