पहिरोले पोखरामा तीनजनाको मृत्यु
पोखरा । पोखरामा अबिरल वर्षाले पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-११, भञ्ज्याङ नमुनाटोलका एकजना र पोखरा-२०, भलामका दुईजनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
पोखरा-२०, भलामका स्थानीय कृष्ण श्रेष्ठको ब्लकले एकतले घरको माथिबाट पहिरो आई घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनीकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ छन् । उनका तीन वर्षीय छोरा बेपत्ता छन् ।
पोखरा-११ का लक्ष्य नेपालीको एकतले कच्ची घरमाथिबाट पहिरो आई घर पुरिँदा एकजनाको मृत्यु भएको छ । पहिरोले घर भत्किएर घाइते भएका ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । उनकी १४ वर्षीया छोरी सृष्टि नेपालीको दुवै खुट्टा र ढाडमा चोट लागेको छ । उनका श्रीमती र दुई छोरा सकुसल छन् ।
त्यस्तै काहुखोला क्षेत्र जलमग्न भएको छ । पोखरा-११, कसेरीस्थित एकदेव तिमिल्सिनाको घर पुरिँदा तीनजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।