१२औ नेपाली मेला २०२१ भब्य रुपमा सम्पन्न, एम्बेसिडोर कप सिक्लेस पार्चे समाज यूकेलाई
केम्पटन पार्क, लण्डन । हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने नाराका साथ तमु धिं यूकेले आयोजा गरेको १२औ नेपाली मेला २०२१ उल्लासमय र भब्य रुपमा सम्पन्न भएको छ । अगष्ट महिनाको अन्तिम साताको बैंक होलिडे पारेर प्रत्येक बर्ष आयोजना गरिने नेपाली मेला गत बर्ष कोभिडको कारण स्थगित गर्नु परेता पनि यसपटक भने भब्य अनि सभ्य रुपमा सम्पन्न भएको छ ।
लण्डन केम्पटोन पार्क रेसकोर्समा सम्पन्न मेलामा सधैंको जस्तो बेलायत स्थित बिभिन्न नेपाली संघसंस्थाहरुले कला, संस्कृति, परम्परा तथा भेषभुषा झल्किने खालको झाँकी प्रदर्शन गर्नुको साथसाथै नृत्य पनि प्रस्तुत गरेका थिए । १२औ नेपाली मेला- २०२१, तमु धिं यूकेको अधक्ष्य हित काजी गुरुङ तथा बरिष्ठ उपाधक्ष्य; नेपाली मेला २०२१को संयोजक हरि गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी मेलाको औपचारिक उध्दघाटन गर्नुभएको थियो भने नेपाली मेला २०२१ को प्रमुख अथिति बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, गैर आवसीय नेपाली संघ यूकेको अधक्ष्य प्रेम गाहा मगर र तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले संयुक्त रुपमा रिबन काटेर मेलाको समुध्दघाटन गर्नुभएको थियो ।
समुध्दघाटन कार्यक्रम लगत्तै नेपाल र बेलायतको राष्ट्रिय गान बजाएको थियो । त्यसपछि कोभिडको कारण नेपाली तथा विश्वभर मृत्यु भएका मानिसहरुको सम्झना अनि शोकमा एक मिनट मौन धारण गरेको थियो । त्यस लगत्तै १२औ नेपाली मेला २०२१ को प्रमुख संयोजक हरि गुरुङले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै स्वागत मन्तब्य दिनुभएको थियो । समुधघाटन कार्यक्रममा महामहिम राजदुत लोकदर्शन रेग्मीले नेपाली मेलालाई अझै पेरिस्क्रित गर्दै लैजाने र राम्रो बनाउने कुरा ब्यक्त गर्नुभएको थियो । साथै नेपाली मेलालाई राम्रो बनाउन सबैको साथ, सहयोग र रचनात्मक सुझाबको अनुरोध गर्नुभयो । आयोजक संस्था तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले नेपाली मेला बेलायत स्थित नेपालीहरुको साझा कार्यक्रम भएकोले सबैले हर्षोलासका साथ रमाइलो गर्न र मेलालाई सफल बनाउन अनुरोध गर्नुभयो । साथै अधक्ष्य गुरुङले मेलालाई आर्थिक अनि नैतिक सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था तथा प्रायोजकहरुलाई धन्यवाद दिनुभयो ।
नेपाली मेला २०२१ मा गीतकार तथा रचनाकार स्रष्टा- एकेन्द्र गुरुङको “बेलायतमा नेपाली गीत” नामक पुस्तकको बिमोचन गरियो । बेलायतमा बसोबास गर्नुहुने ८० जना स्रष्टाहरुको परिचय र गीत/रचनाहरुको सँगालो उक्त किताब रचनाकार एकेन्द्र गुरुङले आफ्नै लगानी र बेलायतको लागि नेपाली पूर्व राजदुत डा दुबसुको सहयोगमा आँफैले संकलन गरेर प्रकाशन गरेको हो ।
औपचारिक कार्यक्रम पश्चात झाँकी प्रदर्शन गरेको थियो । झाँकीमा बेलायत स्थित थुप्रै संघसंस्थाहरुले भाग लिएका थिए । झाँकी प्रदर्शनमा धेरै समयको अन्तरालपछि बेलायतमा तमुहरुको अर्को ठुलो संस्था तमु समाज यूकेले पनि भाग लिएको थियो । झाँकी प्रदर्शन सकिए लगत्तै नृत्य प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै कार्यक्रमको बिचबिचमा सुमधुर स्वरको धनी एभरेष्ट आइडल यूकेको उपबिजेता रशिला गुरुङले बिभिन्न नेपाली गीतहरु गाएर मनोरन्जन गराएकी थिइन् ।
१२औ नेपाली मेला-२०२१ को एम्बेसिडोर कप र एनआरएनए यूके कप सिक्लेस पार्चे समाज यूकेले लगातर दोस्रोपटक जितेको (बिजयी भएको) छ । सिक्लेस पार्चे समाज यूके झाँकी र नृत्य दुबैमा प्रथम भएको थियो । सिक्लेस पार्चे समाज यूकेले गुरुङको छ्यादु, गाउको बार गर्ने संस्क्रिति वा परम्परा अनि नेपाली मेला सम्बन्धि प्रतक्ष्य गीत गाएर नृत्य पस्तुत गरेको थियो । त्यस्तै एम्बेसीडोर कपमा क्रमश: चार भञ्ज्याङ तमु समाज यूके दोस्रो र किराँत राई यायोक्खा तेस्रो भएको थियो । बिजेता सिक्लेस पार्चे समाज यूकेले नगद ११०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्यो । त्यस्तै दोस्रो हुने चार भञ्ज्याङ तमु समाज यूकेले नगद ७०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्यो भने तेस्रो हुन सफल भएको किराँत राई यायोक्खाले नगद ५०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्यो । बिजेता संस्थाहरुलाई प्रायोजकहरु वा उहाँहरुको प्रतिनिधिहरुले पुरुस्कार प्रदान गरेको थियो ।
झाँकीको निर्णायकहरु- डाक्टर रुपक श्रेष्ठ, श्री सुमल कुमार गुरुङ, श्रीमती गोमा राणा र श्री पूर्णराज गुरुङ हुनुहुन्थ्यो भने नृत्यका निर्णायकहरु- सनम कुमार बैराग, सरु राणा मगर र कबिता घर्तिमागर गुरुङ हुनुहुन्थ्यो ।
नेपाली मेलाको प्रमुख आकर्षण मध्येको एक- प्रबेश टिकट लकी ड्र (चिठ्ठा) कार्यक्रममा प्रथम पुरुस्कार एक तोला सुन तमु समाज यूकेको आमा समुहको प्रमुखलाई परेको थियो भने दोस्रो पुरुस्कार सामसुङ ग्यालक्सी ट्याबलेट तमु धिं साउथ इष्ट एकाइको कोषाधक्ष्य श्रीमती निर्मला गुरुङलाई परेको थियो । त्यस्तै तेस्रो पुरुस्कार १०० पाउन्ड नगद लक्ष्मी गुरुङलाई परेको थियो । राफल ड्र (चिठ्ठा)को प्रथम, दितिय र त्रितिय पुरुस्कार क्रमश: लक्की जेवलर अल्डर्सट, ओमन गौचन र गोरखा ट्राभलले गरेको थियो ।
त्यस्तै नेपाली मेला २०२१ लाई सफल बनाउन बेलायतका नेपाली ब्यवसायीहरु तथा लब्ध प्रतिष्ठित ब्यक्तित्वहरु- गोरखा मोर्गेजको माइकल विसर, योगेन क्षेत्री, पुरण गिरी, कुल आचर्य, थर्क सेन, एलबीजेट गुरुङ आदिले पुरुस्कार प्रायोजन तथा आर्थिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अथिति राजदुत लोकदर्शन रेग्मी तथा राजदुताबासको उपप्रमुख रोशन खनाल हुनुहुन्थ्यो । साथै स्थानीय लण्डन हन्स्लो शहरको मेयर बिष्णु गुरुङ तथा काउन्सिलरहरुको उपस्थिती रहेको थियो । नेपाली मेला २०२१ मा बेलायतका चर्चित उध्दघोषकहरु सुर्य गुरुङ, योगेश गुरुङ, श्रीमती निलम गुरुङ, तमु मै ताँको पूर्व प्रस्तोता पुनम गुरुङ, भाबिका तमाङले उध्दघोषण गरेका थिए । औपचारिक कार्यक्रम भने तमु धिं यूकेको महासचिब पर्शुराम गुरुङले सन्चालन गर्नुभएको थियो ।
गत महिना मात्र गोरखा कप २०२१ भब्य रुपमा सम्पन्न गरेको तमु धिं यूकेले यस लगत्तै छोटो समयको अवधीमै दुईवटा ठुला कार्यक्रम गरेर अर्को ईतिहास बनाउन सफल भएको छ । त्यस्तै धेरै बर्षको अन्तकालपछि बेलायतमा तमुहरुको (गुरुङहरुको) अर्को ठुलो संस्था तमु समाज यूकेले पनि यसै पटक भाग लिएको थियो । महामहिम राजदुत र राजदुताबासका पदाधिकारीहरुको लागि पनि यो पहिलो नेपाली मेला थियो ।