बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त साथै तीन सदस्यीय मन्त्रिपरिषद

काठमाण्डौ । एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।

नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् । यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो ।

त्यस लगत्तै नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् । बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो । एमाले विभाजन भएसँगै बागमती प्रदेशमा विभाजनको असर कम गर्ने उद्देश्यले एमालेले सरकारको नेतृत्व परिवर्तन गरेको हो ।

को हुन त अष्टलक्ष्मी शाक्य ?

एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।

६८ वर्षीया अष्टलक्ष्मी शाक्य २०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मेकी हुन् । दशैंको अष्‍टमीको दिन जन्मेकाले उनको नाम अष्टलक्ष्मी राखिएको उनी आफैंले बताउने गरेकी छन् । २०२९ सालमा एसएलसी पास गरेकी अष्टलक्ष्मी २०३६ सालमा घर छोडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परिन् र पछि अखिल नेपाल महिला संघको अध्यक्ष समेत भइन् । शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ मध्येमा पर्छिन् ।

शाक्य २०५६ साल र २०७१ सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन् । यसअघि दुईपटक मन्त्री भइसकेकी शाक्य गत २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन् ।

उक्त निर्वाचन लगत्तै मुख्यमन्त्रीमा दावी गरेकी शाक्यलाई त्यसबेला एमालेको भागवण्डा नमिल्दा डोरमणि पौडेल मुख्यमन्त्री बनेपछि उनी प्रदेशसभा सदस्यमा सिमित बनेकी थिइन् । पञ्चायतकालमा झण्डै ११ वर्षसम्म भूमिगत जीवन बिताएकी शाक्यले २०३७ सालमा पार्टीकै नेता अमृतकुमार बोहोरासँग विवाह गरेकी थिइन । बोहरा एमालेका स्थायी समिति सदस्य तथा एमाले अनुशासन आयोगका अध्यक्ष समेत हुन् । उनी माधव नेपाल समुहका भनेर चिनिएपनि बुधबार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एमाले समाजवादीमा सहभागी छैनन् ।