नयाँं दल दर्ता गर्ना माधव समुह र महन्त ठाकुर समुह निर्वाचन आयोग जांदै
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम टुंग्याएको छ । नेता लक्ष्मणलाल कर्णका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक हुनेछ । उनले नयाँ पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय भएको पनि बताए ।
मन्त्रिपरिषद्ले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको २० प्रतिशत सदस्यको समर्थन भए दल विभाजन गर्न मिल्ने गरी अध्यादेश सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै ठाकुर समूह निर्वाचन आयोग जाने तयारीमा लागेको हो ।
‘पार्टीको नाम जसपा लोकतान्त्रिक र चुनाव चिन्ह साइकल राख्ने प्रस्ताव लिएर निर्वाचन आयोग जाने तयारीमा छौँ,’ कर्णले इकागजसँग भने, ‘तर, यहाँ हाम्रो अन्य विषयमा पनि तयारी गर्नु पर्ने भएकाले आज या भोलिसम्ममा आयोग जाने कुरा भएको छ ।’ कर्णले २३ सदस्यीय कार्यकारिणी समिति बनाउने निर्णय भएको पनि जानकारी दिए ।
त्यस्तै एमालेकाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम टुंगो लगाएको छ । नेकपा एमाले समाजवादी पार्टीको नाम राख्ने सहमति भएको नेता मेटमणी चौधरीले इकागजलाई जानकारी दिए । ‘पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने टुंगो लागिसक्यो,’ उनले भने, ‘चुनाव चिन्हको लागि सूर्य नै दाबी गर्ने कि अरु अन्य राख्ने भन्ने विषयमा अहिले पनि छलफल जारी छ ।’ चुनाव चिन्हको लागि कलम, किताब, हँसिया हथौडालगायतको प्रस्ताव आएको उनको भनाइ छ ।
मन्त्रिपरिषद्को सिफारिसमा केन्द्रीय समिति र संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश राष्ट्रपतिद्वारा जारी भएसँगै नेपाल समूह दल दर्ताको प्रक्रियामा अघि बढेको छ । नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको छ । आफूनिकट केन्द्रीय कमिटीको बैठक सकेर नेपाल समूह आज नै दल दर्ताको लागि निर्वाचन आयोगमा जाने सम्भावना छ ।