अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ,’ कार्कीले भने ।
अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिइएको प्रवक्ता कार्कीले बताए ।
काबुलस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय ८५ नेपालीको उद्धार, दोहा पुर्याइयो
त्यस्तै अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पुर्याएको हो । काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्धार गरेर दोहा लगेको छ । उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्याइएको भन्नेबारे खुलेको छैन ।
उनीहरुलाई दोहा पुर्याउनुअघि हमिद कारजाई विमानस्थलस्थित अमेरिकी सैन्य क्याम्पभित्र आइतबार राखिएको थियो । त्यहाँबाट आइतबार र सोमबार गरी दोहा पुर्याइएको हो । उनीहरुलाई अफगानस्तान पठाउने एफएसआई वर्ल्ड वाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले सबै नेपालीहरुलाई अमेरिकाले सुरक्षित रुपमा दोहा पुर्याएको बताए । ‘हामीले पठाएका गार्डहरुमध्ये ३८५ जना काम गरिरहेका थिए,’ उनले भने,’उनीहरु सबैको सकुशल उद्धार भएको छ । ‘
उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको गुरुङले बताए । ‘नियमित उडान मार्फत उनीहरुलाई अमेरिकाले काठमाडौं पठाइदिने छ,’ गुरुङले भने । यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्धार गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘दूतावासका सबै कर्मचारीहरुको सफल उद्धार भइसकेको छ । उनीहरु हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र सुरक्षित छन् । ’
अफगानस्तानमा साउनस २८ सम्म १४ हजार ८ सय ९२ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । तीमध्ये ८ हजार जनाले पुनःश्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी गएकामध्ये हाल कति जना कार्यरत छन् भन्ने यकिन विवरण सरकारसँग छैन । यसबाहेक पनि भारतीय बाटो हुँदै अफगानस्तान पुगेका छन् ।
दूतावासमा कार्यरत कर्मचारी तथा सुरक्षागार्डहरुलाई हेलिकप्टरमार्फत हमिद अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । तालिबान समूहले काबुल सहरलाई पनि पूर्ण रुपमा नियन्त्रणमा लिएको छ । केही पश्चिम देशका दूतावासका कर्मचारीहरु अझै काबुल सहरभित्रै रहेका छन् ।