जता शक्तिको रापताप, उतै नेताका बास

भनिन्छ, राजनीति सम्भावनाहरूको खेल हो । मौसम र राजनीतिको भविष्यवाणी गर्न सकिँदैन पनि भन्‍ने गरिन्छ । नभन्दै मुलुकको राजनीति पनि भविष्यवाणी गर्न नसकिएर प्रतिनिधि सभामा जम्मा ६१ सिट भएको दलले सरकार बनायो । केपी ओलीको दुई तिहाइको सरकार सडकमा आयो । ओली सत्तामा हुँदासम्म जनता समाजवादी पार्टी (जसपा) मा महन्थ ठाकुर-राजेन्द्र महतो निकै पक्ष बलियो देखिन्थ्यो भने बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह अल्पमतमा थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै हेर्दाहेर्दै एकाएक दृश्य बदलियो । अब ठाकुर-महतो समूह अल्पमत मात्र होइन कि एक तिहाइमा झरेका छन् । निर्वाचन आयोगको ‘टाउको गन्ती’मा उपेन्द्र यादव समूहको पक्षमा ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जना उभिए । यो कूल सदस्य संख्याको दुई तिहाइ हो ।

कुनै बेला माधव नेपाल समूहसँग ४३ जना सांसद थिए । केपी ओली प्रधानमन्त्री भएका बखत नेपाल पक्षका सांसदहरू क्रमशः ओलीतिर लाग्दै गए । कहाँसम्म भने नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार भएका केन्द्रीय सदस्यसमेत ओली कित्तामा पुगे । ४३ जना सांसदको पकड रहेको नेपाल समूहमा २३ जनामा सीमित झर्‍यो ।

कर्णाली प्रदेशको सरकार जोगाउन एमालेका तीन सांसदले आफूलाई ‘बलिदानी’ गरे । सरकार जोगिएपछि मन्त्री पनि भए । सांसद पद खारेज गर्ने एमालेको निर्णयलाई सर्वाेच्चले उल्टाइदियो । अझ असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गर्ने बेलामा संविधानको धारा ७५ (५) बमोजिम पार्टीको ह्वीप नलाग्ने फैसला गर्‍यो । हुँदा-हुँदा देउवालाई विश्वासको मत दिने बेलामा ओलीतिरका आठ सांसदले कित्ता परिवर्तन गरे । त्यसमा कोही त ओलीका मन्त्री नै थिए । शक्ति फेरबदलसँगै तिनले रातारात मत फेर्न पुगे, त्यसकारण पनि राजनीतिमा को, कति बेला, के गर्छ भन्‍ने भेउ पाउन सकिँदैन । त्यहीकारण राजनीतिमा सिद्धान्त, आदर्श, नैतिकता, इमानदारीजस्ता शब्द ‘सिला’ खोज्नुपर्ने स्थिति पैदा भएको छ ।

दुई तिहाइको नेकपा सरकारले सत्ता रथारोहण गर्दा कम्युनिस्टहरूले मुलुकमा १५ वर्ष एकछत्र शासन गर्ने अनुमान गरेका थिए । तर राजनीतिमा भविष्यवाणी गर्न नसकिँदो रहेछ भन्‍ने यी घटनाक्रमले देखाएका छन् । नेपालको सन्दर्भमा विशेष गरी पद र शक्ति भएपछि सांसद, सदस्यहरू यता र उता गर्दा रहेछन् ।

व्यक्तिवादी, अवसरवादी र सर्वसत्तावादी सोच र प्रवृत्तिले आखिर मुलुकले नै दुःख पाउँदो रहेछ भन्‍ने देखियो । तसर्थ, सबैले आ-आफ्नो ठाउँबाट विधि र पद्धतिमा चल्ने हो अस्थिरता पनि आउँदैन र जेका लागि राजनीति गरिएको हो, त्यो लक्ष्य पनि प्राप्त हुन्छ । राजनीतिको अन्तिम लक्ष्य सधैं मुलुक र मुलुकवासीको कल्याणका निम्ति हो ।
माधवकुमार नेपाल पक्षको पल्ला भारी हुँदै गइरहेको छ र केपी ओलीलाई उनका विश्वास-पात्रहरूले क्रमशः छाड्दै जाने स्थिति देखापरेको छ । ठाकुर-महतो जसरी नै कुनै दिन ओली अल्पमतमा परे पनि आश्चर्य नमाने हुन्छ । किनभने देउवाले कहिल्यै पनि सोचेका थिएनन् कि उनी प्रतिनिधि सभाको यही कार्यकालमा प्रधानमन्त्री हुन्छन् भन्‍नेमा । संसद्‌मा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस गर्न आवश्यक २५ प्रतिशत मतीय संख्यासमेत कांग्रेससँग थिएन । तर आज कांग्रेसले नै सत्ताको नेतृत्व गरिरहेको छ ।

राष्ट्रपतिबाट पहिलोपटक संविधानको धारा ७६(३) अनुसार सरकार गठनको आह्वान हुँदा जसपाका दुई पक्ष दुईतिर लागे । तर पछि देउवालाई एकै ठाउँमा उभिएर विश्वासको मत दिए । त्यतिबेला केपी ओलीले आफ्नो ‘माग सम्बोधन’ गर्ने प्रयास गरेको भन्दै ठाकुर पक्षले सरकारलाई साथ दियो । तर पनि जसपाको माग सम्बोधन भएको छैन । तर सरकारलाई विश्वासको मत दियो । यसले के देखाउँछ भने सत्ताको राप जतातिर छ, हाम्रा नेता-कार्यकर्ताहरू उतैतिर हुँदा रहेछन् । महन्थ ठाकुर पक्षले धारा ७६(३) अनुसार देउवालाई मत दिएको भए ओलीले संसद् विघटन गर्न पाउँदैनथे । मुलुकको झन्डै दुई महिनाको समय कानुनी लडाइँमा खर्च हुँदैनथ्यो, त्यो समय कोभिड-१९ को चपेटामा परेका नागरिकको उचित ध्यान पुर्‍याउन लाग्थ्यो ।

मुलुकको राजनीतिक स्थिरता दलका नेता, सांसद तथा कार्यकर्ताहरूको स्थिरतामा पनि अडिएको हुन्छ । २० सांसद पद जितेको तत्कालीन राप्रपाले दुई, दुई पटक प्रधानमन्त्रीको नेतृत्व गर्न पायो । उनीहरू प्रधानमन्त्री वा सरकारका सदस्य त भए, तर मुलुकले अस्थिरता, भ्रष्टाचारबाहेक अरु पाएन । तसर्थ विधि, पद्धति, प्रणाली र निष्ठामा आधारित राजनीति अहिलेको आवश्यकता हो ।

ओलीको चरम अहं, महन्थ पक्षको चरम पदलोलुपता, प्रचण्ड पक्षको चरम स्वार्थ र कांग्रेसको महत्वाकांक्षा नै मुलुकमा राजनीतिक स्थिरताका निम्ति स्थायी शत्रुका रूपमा देखिएका छन् । यस्तो व्यक्तिवादी, अवसरवादी र सर्वसत्तावादी सोच र प्रवृत्तिले आखिर मुलुकले नै दुःख पाउँदो रहेछ भन्‍ने देखियो । तसर्थ, सबैले आ-आफ्नो ठाउँबाट विधि र पद्धतिमा चल्ने हो अस्थिरता पनि आउँदैन र जेका लागि राजनीति गरिएको हो, त्यो लक्ष्य पनि प्राप्त हुन्छ । राजनीतिको अन्तिम लक्ष्य सधैं मुलुक र मुलुकवासीको कल्याणका निम्ति हो ।

साभर- इकागज सम्पादकीय