टोकियो ओलिम्पिकको पहिलो स्वर्ण चिनिया खेलाडीलाई, दुई नेपाली खेलाडी पराजित

टोकियो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन् । उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन् । उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए ।

आयोजकहरूले यो खेल प्रतिस्पर्धाले जापानी सर्वसाधारणमा उत्साह जगाउने र महामारीका बेला आयोजना खेल प्रतिस्पर्धा आयोजना गर्न लागिएका कारण उत्पन्न तनाव हटाउने आशा राखेका छन् ।

नेपालको कल्पना पारीयारले एयर सुटिङमा राष्ट्रिय कीर्तिमान कायम गरिन तर बिजयी भने भएन । त्यस्तै नेपालको जुडो खेलाडी सोनिया भट्ट पनि पहिलो खेलमै पराजित भइन । महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गरेकी कल्पनाले प्रारम्भिक चरणमा ६ सय १६.८ स्कोर गर्दै आफैले बनाएको कीर्तिमान तोडेकी हुन् । उनले यसअघि नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै कीर्तिमान रचेकी थिइन् । टोकियो ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा कल्पना समग्रमा ४६ औँ स्थान रहँदै प्रतियोगिताबाट बाहिरिइन् ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोडेकी थिइन् । प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडीले मात्र अन्तिम चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन् । उनी इरिनासँग सोनिया १ मिनेट १६ सेकेन्डसम्म मात्र टिक्न सकिन् । इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरिन् । प्रतियोगिताको नियम अनुसार अब यदि इरिना फाइनलमा पुगिन् भने सोनियाले रेपचेज अर्थात् उत्कृष्ट खेलाडीसँग हारेमा कांस्य पदकका लागि खेल्न पाउने मौकामा फेरि खेल्न पाउनेछिन् ।

कल्पना र सोनिया दुवै वाइल्ड कार्ड पाएर ओलिम्पिकमा सहभागी भएका हुन् । ओलिम्पिकमा अब नेपालबाट दुई पौडी खेलाडी र एथलेटिक्सको एउटा खेल खेल्न बाँकी छ । एथलेटिक्स टोली आज शनिवारमात्र जापान प्रस्थान गरेको छ ।

मास्क नलगाउने खेलाडीलाई सजाय

ओलिम्पिक गेम्सका कार्यकारी निर्देशक क्रिस्टोफ डुबीले कोभिड विरोधी उपायहरू बेवास्ता गरेमा खेलाडीहरूलाई सजाय दिइने बताए । उद्‌घाटन समारोहमा किर्गिस्तान, ताजिकिस्तानका खेलाडीहरू र पाकिस्तानका झण्डा समातेका दुई खेलाडीले मास्क लगाएका थिएनन् । डुबीले बिहानको आईओसी ब्रिफिङमा भने, “हामीले मास्क लगाउन किन महत्त्वपूर्ण छ भन्ने बुझाउन निरन्तर सन्देश दिइरहनुपर्नेछ ।

“त्यस्तो सन्देश दिने काम हिजो पनि गरियो र भोलिका दिनमा पनि गरिरहने छौँ। यदि त्यस्तो व्यवहार गरियो भने त्यो सह्य हुने छैन र हामी कारबाही गर्ने छौँ। त्यस्तो स्थितिमा पुग्न नपरोस् भनेर हामीले सन्देश दोहोर्‍याउने काम गरिरहनेछौँ ।”

बि.बि.सी