१९ औं सस्करणको गोर्खा कपको तयारी पुरा, उच्च सतर्कताका साथ कार्यक्रम आयोजना गरिने
मिचेट ह्याम्पसायर । तमु धिं यूकेले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको- बेलायतमा नेपालीहरुले आयोजना गर्ने सबैभन्दा ठुलो खेलकुद कार्यक्रम “१९औ गोरखा कप २०२१” को सम्पूर्ण तयारी पुरा भएको कुरा आयोजक संस्था तमु धी यूकेले आज एक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कोभिड-१९ पूर्ण रुपमा निर्मुल नभैसकेकोले उच्च सतर्कता साथ कार्यक्रम आयोजना गरिने र यसको लागि व्यापक तयारी भइरहेको कुरा तमु धिं यूकेले जानकारी गराएको छ ।
तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रमको शुरुवातमा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने मिडिया सेक्रेटरी एसके गुरुङले मिडियाकर्मीको स्वागत तथा परिचय दिनुभएको थियो । स्टल कोअर्डिनेटर तथा तमुधिं यूके उपाध्यक्ष तुलाराम गुरुङले स्टल, टेन्ट लगायतबारे बताए । त्यस्तै १९औ गोरखा कप-२०२१ को संयोजक क्याप्टेन देव घलेले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत गोर्खा कपको तयारीबारे उपस्थित तथा जूम मार्फत जोडीनुभएका पत्रक्रारहरुलाई जानकारी गराउनुभएको थियो । उनले ७१ जनाको टिमले इभेन्ट सफल बनाउन काम गरिरहेको बताउंदै मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरि कुल ४२ टिमले प्रतिस्पर्धा गर्ने कुरा बताउनुभयो ।
प्रतियोगितामा मेन क्याटगोरीको प्रथम विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो विजेतालाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् । ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने आयोजक तमुधिं यूकेले जनाएको छ । त्यस्तै गरी बिगतमा झै यस पटक पनि फुटबलबाहेक सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना-हस्तकलाका स्टल, पञ्चेबाजा आदि प्रमुख आकर्षण हुने संयोजक घलेले जनाए ।
बेलायतमा कोभिड संक्रमणदर फेरि बढिरहंदा किन इभेन्ट गरियो भन्ने प्रश्नमा आयोजकले स्थानीय रसमोर बरो काउन्सिल र सरोकारवाला सबै निकायको सल्लाह एवं कोभिड रिक्स एसेसमेन्टपछि मात्र कार्यक्रम आयोजना गर्न लागेको कुरा संयोजक घलेले बताउनुभयो । उहाँले सम्बन्धित निकायको अनुमती प्राप्त भएपछी मात्र आफुहरुले इभेन्ट गर्न लागिएको बताउंदै कोभिड जोखिम ज्यादै न्युन हुने कुरा बताउनुभयो । कार्यक्रममा तमुधिं यूकेको अध्यक्ष हितकाजी गुरुङले सरकारले पनि कोभिड नियम हटाएकाले गोर्खा कप भव्य हुने आशा व्यक्त गरे । उनले यस इभेन्टलाई तमुधिं यूकेको मात्र नभइ सबैको साझा मानेर कार्यक्रममा सहभागी हुन बेलायतबासी नेपालीलाई अनुरोध गर्नुभयो ।
त्यस्तै खबर यूकेको सदस्य ईन्द्र घोथानेले गोरखा कपमा मात्रा पुरुषहरुको खेल (फुटबल) हुने गरेको तर महिलाको (युवतीहरुको) लागि खासै कार्यक्रम केही पनि नहुने भएकोले यस सम्बन्धमा; महिलाहरुको लागि कार्यक्रम (खेल खेलाउने) तपाईंहरुको केही योजना छ ? भनि प्रश्न गरेकोमा यस कुरामा आयोजकलाई अबगत भएको र महिलाहरुको निम्ती पनि केही कार्यक्रम गर्नुपर्ने आवश्यक भएकोले आगामी गोरखा कपहरुमा त्यसतर्फ पनि ध्यान दिने कुरा बताउनु भयो ।
प्रत्यक्ष र भर्चुअल गरिएको उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, पूर्व अध्यक्ष चिरन शर्मा, बाचस्पति रेग्मी, प्रकाश गुरुङ, नरेन्द्रराज नेम्वाङ लगायत विभिन्न व्यक्तिले जिज्ञासा राखेका थिए ।
कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण आउंदो २४ जुलाइमा अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा गर्ने तयारी छ । ३५ हजार पाउण्ड बढी खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा, कोभिड प्रोटोकल, शौचालय, पार्किङ आदिको भरपुर व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।
त्यस्तै आज नै टिम ‘ड्र’ पनि गरिएको छ । टिम ड्रको लागि सहारा यूकेको अधक्ष्य तथा टिम दर्ता संयोजक कुमार गुरुङ, अधक्ष्य हितकाजी गुरुङ र लेप्टेन कुसाङ गुरुङले सहयोग गर्नुभएको थियो ।