माधव नेपालको गल्ती कमजोरी नस्वीकार्ने, नेपालको पुत्ला दहन
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)मा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताउनुभएको छ । बुधबार आफ्नो निजी निवास बालकोट फर्किनुभएका ओलीले पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ नै नरहेको बताउनुभएको हो । अरुको पछाडि लाग्नेहरुको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न आए मौका दिने तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार नगरिने धारणा राख्नुभयो ।
उहाँले आफूलाई जालझेल गरेर हटाइएको भन्दै त्यसको अगुवाइ माधव नेपाल गरेको आरोप लगाउनुभयो । देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर अघि बढ्दा विरोधीहरुले आफूलाई अटाएको उहाले बताउनुभयो ।
ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको र अदालतले नै प्रधानमन्त्री छानेर जात्रा देखाएको तर्क गर्नुभयो । ओलीले अदालतमा निवेदन हालेर सँधै सरकार नपाइने समेत बताउनुभयो । बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्कनुभएका ओलीलाई युवा संघले जुलुससहित बालकोट पुराएको थियो । बालकोट पुग्दा ओलीको स्वागत गर्दै कार्यकर्ताहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध नारा लगाएका थिए । बालकोटमा ओलीको स्वागतमा ब्यान्ड बाजा बजाउनुको साथै एमाले कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
युवा संघका कार्यकर्ताले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला
निवर्तमान प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थक युवा संघका कार्यकर्ताहरूले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरमा पुत्ला जलाएका छन् । बुधबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका कार्यकर्ताहरू त्यहाँबाट फर्किएर कोटेश्वरमा भेला भएका हुन् । अहिले उनीहरूले कोटेश्वर चोकमा पुगेर कोण सभा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । त्यसै क्रममा उनीहरूले माधव नेपालको पुत्लासमेत जलाएका थिए । प्रहरी र प्रदर्शनकारीहरूबिच पुत्ला खोसाखोस भएको थियो ।
उनीहरूलाई माधव नेपाल निवासतिर जानबाट रोक्न प्रहरी सुरक्षासमेत बढाइएको छ । प्रधानमन्त्री पदबाट मुक्त भएपछि केपी शर्मा ओलीलाई युवा संघका कार्यकर्ताहरूले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर पुर्याएका थिए । उनीहरूले नाराबाजी समेत गरेका थिए । ओलीनिकट भक्तपुरका सासंद महेश बस्नेतले पनि केही कार्यकर्ताहरू कोटेश्वर गएको थाहा पाएको बताए । यद्यपी उनले त्यसो नगर्न भन्दै हपारिसकेको बताए । ‘मैले पनि केही मान्छेहरू त्यहाँ गएको कुरा सुनें । उनीहरूलाई त्यसो नगर्न भनेर मैले हपारिसकेको छु,’ बस्नेतले सेतोपाटीसँग भने ।