दलबलसहित बालुवाटारबाट निस्के निबर्तमान प्रधानमन्त्री ओली

काठमाडौँ । एमाले अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीकै गाडी लिएर बालकोट फर्किएका छन् । अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर बालकोट स्थित निजी निवासका लागि हिँडेका हुन् । ओली बालुवाटारबाट भक्तपुरको बालकोटका लागि दलबलसहित प्रस्थान गरेका हुन् । उनलाई राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले मोटरसाइकल र गाडी र्‍यालीसहित स्कटिङ्ग गरेको थियो ।

उनी तामझामसहित प्रधानमन्त्री चढ्ने गाडीमा बालुवाटारबाट निस्किएका थिए । ‘बालुवाटारमा प्रधानमन्त्रीका लागि २/३ वटा गाडी छन् । तीमध्ये एउटा गाडी लिएर ओली बालकोट पुगेका हुन् । बहिरगमन हुने क्रममा सुरक्षाकर्मीहरु बाक्लो उपस्थिती रहेको थियो । ‘शेर बहादुर देउवाले मंगलबार नै पदभार सम्हालिसकेको अवस्थामा ओली यसरी निस्कनु निवर्तमान प्रधानमन्त्रीका लागि शोभनीय थिएन । तर उहाँले प्रधानमन्त्रीकै जसरी गाडी र सुरक्षाकर्मी लिएर जानु भयो’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने ।

झरीका बीच समर्थकहरुको घेराबीच ओली बालुवाटारबाट बालकोट पुगेका थिए । बाजागाजासहितको टोली पनि थियो । युवा संघ, युथ फोर्सलगायत एमालेनिकट संगठनहरुले ‘आईएम विथ केपी ओली’ उल्लेखित ‘कट आउट’ मोटरसाइकल र गाडीमा राखेर र्‍याली निकालेका थिए । यस्तै अरु कार्यकर्ताहरु पनि उनको बिदाईमा बालुवाटार पुगेका थिए ।

सर्वोच्च अदालतको आदेश अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीले लिएर गएको प्रधानमन्त्रीको गाडि र सुरक्षाकर्मी बुधबारसम्म फिर्ता हुने बुझिएको छ । दोस्रोपटक गरेको संसद विघटनसमेत सर्वोच्च अदालतले उल्टाई दिएपछि ओली बालुवाटारबाट बाहिरिन बाध्य भएका हुन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशसमेत दिएको थियो । सर्वोच्चको आदेशबाट पद मुक्त भएका ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अदालतको आदेशको आलोचना गरेका थिए ।

तस्बिर – Onlinekhabar