जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : निबर्तमान प्रधानमन्त्री ओली
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सिंहदरबारबाट मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले जनादेशले नभई, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिन लागेको बताएका हुन् । सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
संविधानको धारा ७६ को उपधारा ५ मा ओली दाबी गर्न अयोग्य रहेको पनि परमादेशमा लेखिएको थियो । यसतर्फ उल्लेख गर्दै मंगलबार ओलीले भने, ‘जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु ।’ मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहीत रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण भएको पनि ओलीले बताए । उनले भने, ‘जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधारित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बन्ने/बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौं ।’
सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन् । आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी गरे । ‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु,’ ओलीले भने ।
आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीले दाबी गरे । ‘जनताले राहत महसुस गरेको छ । त्यसकारण म बिदाइप्रति खुसी छु । ढुक्क छु । चिन्ता छैन ।’
निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको मुख्य अंशहरु ।
सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको छ,
महामारी रोकथामसँगै समृद्धिको यात्रा अघि बढिरहेको छ,
माधव नेपाल समूहका सांसद विद्रोही होइनन् अराजक हुन्,
इतिहासमै पहिलोपटक सर्वाेच्चले प्रधानमन्त्री तोक्यो,
सर्बोच्च आदलतले संविधान संशोधन गरेको आरोप,
सर्वाेच्चको फैसलाको भाषाले चिन्तित तुल्याएको छ,
सर्बोच्चले (रेफ्रीले) नै गोल गर्न खोजेको,
डेढ करोड डोज आउने सुनिश्चित,
सर्वोच्चको फैसलाको पालना गर्छौ,
मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो,
बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना तर मलाई शंका छ,