काङग्रेस पदाधिकारीहरुको बैठक, स्वास्थ्यमन्त्रीमा शशांककाे इच्छा
काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा सरकार गठन तथा सञ्चालनबारे छलफल हुने उनले बताए ।
सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका प्रधानमन्त्रीको शपथ लिँदै छन् । उनले सानो आकारको मन्त्रीमण्डल पनि बनाउने तयारी छ तर कांग्रेसबाट को को मन्त्री बन्ने भन्नेबारे टुंगो लागेको छैन । देउवा निवासमा हुने बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ । अहिलेसम्म प्रकाशमान सिंह, शशांक कोइराला, बिमलेन्द्र निधि, बालकृष्ण खाँडसहितले सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको जनाइएको छ ।
कोइरालाले आफू चिकित्सा क्षेत्रबाट आएकाले पनि स्वास्थ्य मन्त्रालय दिए सरकारमा सहभागी हुने बताएको स्रोतले जानकारी दियो । यस्तै खाँडले रक्षा तथा निधिले भौतिक पूर्वाधार मन्त्रालयमा इच्छा व्यक्त गरेका छन् । तर सरकारको प्रमुख घटकका रुपमा रहने माओवादी केन्द्र तथा बहुमतका लागि सहयोग चाहिने जसपासँगै एमालेको नेता नेपाल पक्षसँग पनि छलफल गरेपछि मात्रै सरकार र मन्त्रालयबारे टुंगो लाग्ने भएकाले मंगलबार सानो आकारको मन्त्री परिषद बन्ने छ ।