
ओली र नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । बुधबार साँझ नक्सालस्थित एक होटलमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो । तर, वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ ।
‘समग्रतामा पार्टी एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाम कसरी ल्याउने भनेर छलफल भएको छ । पुनः कुराकानी हुनेछ । हामीले समस्याका विषयमा गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गर्दै आएका छौं । अब कार्यदलका बीचमा छलफल हुन्छ,’ वार्तापछि रावलले भने । ओली र नेपालबीच केहीबेर वान अन वान वार्तापछि कार्यदल सदस्यहरु पनि सहभागी भएका थिए । तर, वार्तामा ठोस सहमति भने जुट्न सकेन । यद्यपि नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र अब बाँकी कार्यदलले टुंग्याउने बताए ।
यसअघि नेकपा (एमाले)को विवाद समाधानका लागि कार्यदलले सकारात्मक ढंगले छलफल अगाडि बढीरहेको र आन्तरिक विवाद समाधानका लागि सहमतिका लागि खाका तयार गरेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भनिएको थियो । जेठ २ गते बनेको १० सदस्यीय कार्यदलको छलफल सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग बसेर एकताको खाका तयार पार्ने सहमति गरेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।
बुधबार सिंहदरबारमा बसेको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरेर बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मक रुपमा छलफल भएको छ । एकताको विषय चाँडै निष्कर्षमा पुग्ने विश्वास उनको छ ।
पार्टी एकताका लागि पछिल्ला दिनमा अध्यक्ष केपी ओली लचक भएपछि कार्यदलले तीन दिनदेखि छलफललाई तीव्रता दिएको हो । अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको खाका तयार बनेको नेताहरुको भनाइ छ ।
कार्यदल सदस्य गोकर्णराज विष्टले सहमतिका लागि खाका तयार भएको बताए । अदालतको फैसला अनुसार एमाले २०५७ जेठ २ मा फर्किएपछिको विवाद समाधान खोज्ने, नेकपा माओवादीबाट एमालेमा एकता हुन आएका नेताको व्यवस्थापन गर्ने, प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको विषय समाधानका लागि नजिक पुगेको विष्टको भनाइ छ ।
एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न बुधबार साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन् ।



