प्रचण्डविरुद्ध मुद्धा दायर गर्ने तयारीमा पूर्वमाओवादी नेताहरु
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीबाट निकालेको भन्दै माओवादीका निर्वतमान ४ सांसदहरु अध्यक्ष प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गर्न लागेका छन् । फागुन २३ मा माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता तथा निवर्तमान सांसदहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी अध्यक्ष प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गर्न लागेका हुन् ।
आफूहरुलाई असंवैधानिक ढंगले सांसद पदबाट हटाइएको भन्दै उनीहरु सर्वाेच्च अदालतमा जान लागेको बताइएको छ । अहिले सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्धाको फैसला हुन बाँकी रहेको अवस्थामा त्यसैलाई मध्यनजर गर्दै उनीहरुले कानुनी परामर्श तीव्र बनाएको बताइन्छ ।
स्रोतका अनुसार उनीहरुले रिट निवेदनको ड्राफ्ट तयार गरिसकेका छन् । तयार पारिएको ड्राफ्टमा माओवादीको सिफारिसका आधारमा सांसद्बाट पदमुक्त भएका उनीहरुले आफूलाई गरिएको कारबाही र पदमुक्त सम्बन्धी निर्णय अवैध भएको दावी गरेका छन् ।
स्रोतका अनुसार प्रतिनिधिसभा विघटन मुद्धाको फैसलामा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको अवस्थामा भोलिपल्टै ४ नेताहरु सर्वोेच्च अदालतमा गएर अध्यक्ष प्रचण्डविरुद्ध रिट दायर गर्ने तयारी रहेका छन् ।