अमेरिकामा मध्यराति अचानक भत्कियो १२ तले भवन

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन् ।

स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो । भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका छन् । कतिले त भवनमा मिसाइल हानेजस्तो लागेको बताएका छन् ।

सन् १९८१ मा बनेको उक्त भवन अचानक किन भत्कियो भन्ने कारण खुलिसकेको छैन । स्थानीयहरूले भवनको पुन:प्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएका छन् । उद्धारकर्ताहरूले कुकुर र विद्युतीय उपकरणको सहायताले भवनमा च्यापिएका मानिसहरूको खोजी गरिरहेका छन् । अहिलेसम्म ९९ जना मानिस सम्पर्कविहीन भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

भवनको भत्किन बाँकी भागमा रहेका मानिसहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । अधिकारीहरूले उद्धार र खोजीको कामसँगै भवन भत्किनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाएका छन् ।