ब्रिटिश पानीजहाजमा रुसले गोली नचलाएको यूकेको भनाइ

एजेन्सी । रुसको सेनाले ब्ल्याक सीमा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले अस्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयले ब्रिटिश पानीजहाज एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेपछि गस्ती गरिरहेको एउटा रुसी लडाकु पानीजहाजले गोली प्रहार गरेको र अगाडिको जलमार्गमा एउटा लडाकु विमानले बम प्रहार गरेको जनाएको थियो । तर ब्रिटिश रक्षा मन्त्रालयले भनेको छ, एचएमएस डिफेन्डर माथि चेतावनी स्वरूप प्रहार गरिएको छैन। उसले त्यो पानीजहाज युक्रेनको जलक्षेत्रमा रहेको बताएको छ । ‘रोयल नेभी शीप अन्तर्राष्ट्रिय कानुन बमोजिम युक्रेनी क्षेत्र हुँदै बिना कुनै गलत नियत यात्रा गरिरहेको छ’ रक्षा मन्त्रालयले भनेको छ ।

यसअघि रुसले ब्रिटिश नौसेना रोयल नेभीको डिस्ट्रोइअर लडाकु पानीजहाज उसको जलक्षेत्रमा प्रवेश गरेपछि त्यसमाथि गोली प्रहार गर्नुका साथै अगाडिको जलमार्गमा बम खसालेको बताएको थियो । उक्त घटना क्राइमिया नजिकै भएको बताइएको छ, जसलाई रुसले सन् २०१४ मा युक्रेनबाट आफूमा गाभेको थियो ।

मस्कोका अनुसार उक्त चेतावनी स्वरूप गरिएको कार्वाही पछि एचएमएस डिफेन्डरले आफ्नो बाटो मोडेको थियो । इन्टरफ्याक्सले मन्त्रालय स्रोतलाई उल्लेख गर्दै जनाए अनुसार ब्रिटिश दूतावासका रक्षा सहचारी डिफेन्स एट्याशेलाई रुसी विदेश मन्त्रालयमा डाकिएको थियो । एचएमएस डिफेन्डर टाइप ४५ वर्गको लडाकु पानीजहाज हो जुन यूकेको क्यारिअर स्ट्राइक ग्रुप भनिने समूहको एक भाग हो । रोयल नेभीको वेबसाइटका अनुसार उक्त लडाकु पानीजहाज ब्ल्याक सी क्षेत्रमा परिचालित छ ।