रिहा भएकी घरबेटीलाई शिक्षा मन्त्रीले आफ्नै गाडीबाट घर पुर्याए

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारमा गए । जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न उनी प्रहरी कार्यालय पुगेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो । प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो । भीडले प्रधानले आफूलाई जातकै आधारमार कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नारा लगाएको थियो । प्रधान छुटेपछि भीडले सिठी बजाउँदै, हो-हल्ला गर्दै ‘रूपा सुनार-मुर्दावाद!’ भन्ने नारा लगाएको थियो ।

रिहा भएपछि त्यहाँ उपस्थित शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिएर आफ्नो गाडीमा लिएर गए । अनि आफ्नो झन्डावाला गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याइदिए ।

जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर घर पुर्‍याएको कुराको अहिले आलोचना भइरहेको छ ।सेतोपाटीले बुधबार दिउँसो यस विषयमा शिक्षा मन्त्री श्रेष्ठलाई फोन गरेको थियो । उनले फोन उठाएपछि हामी सोध्यौं- तपाईं पक्राउ परेकी बबरमहलकी घरबेटी छुटाउन जानु भएको रहेछ नि ? जवाफमा उनले भने- म अहिले गोप्य मिटिङमा छु । पछि कुरा गर्छु ।