स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे
बुटवल । भेरी अस्पताल नेपालगन्जका चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले अभियुक्तहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५० हजार धरौटीमा रिहाको आदेश गरेको हो ।
दाङका डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले जेठ १३ गते अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई हातपात गरेका थिए । घटनालगत्तै प्रहरीले तिनै जनालाई पक्राउ गरेको थियो । आइतबार पुर्पक्षपछि उनीहरु धरौटीमा रिहा भएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए । कुटपिटमा संलग्नहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।
घटनापछि अस्पतालका डाक्टर र नर्सहरुले चरणवद्ध आन्दोलन समेत गरेका थिए । घटनाबारे अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनेको थियो। समितिले अस्पतालको सुरक्षा कमजोरी औँल्याएपछि अहिले भेरी अस्पतालभित्र जान पासको व्यवस्था गरिएको छ । एक बिरामी एक जना कुरुवाको व्यवस्था गरिएको छ ।