एमाले एकताले गति लिँदै, जेठ २ पूर्वावस्थाको बैठक बोलाउने तयारी
काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर पार्टी क्रियाशील गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।
सो आव्हानलाई असन्तुष्ट खनाल–नेपाल पक्षले विश्वास गर्न नसकेपछि सो आव्हानलाई थप प्रष्ट पार्दै जेठ २ को पार्टी अवस्था र सोही हैसियतमा स्थायी कमिटी बैठक बोलाउने तयारी अध्यक्ष ओलीले गर्नुभएको हो । पार्टीको आन्तरिक एकता कायम गर्ने उद्देश्यसाथ दोस्रो पुस्ताका नेताहरु सक्रिय बनेपछि स्थायी कमिटी बैठकसम्म पुग्ने वातावरण तयार हुनलागेको नेताहरुको बुझाई छ ।
एमाले प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार दुई पक्षीय छलफलले गति लिएको छ, औपचारिक तथा अनौपचारिक छलफल जारी रहेकाले स्थायी कमिटीको बैठकसम्म पुग्ने वातावरण निर्माण भइरहेको छ । ”छलफल सकारात्मक ढङ्गले अघि बढेको छ, बैठक बोलाउने पहल पनि भइरहेको छ तर टुङ्गो लागिसकेको छैन” प्रवक्ता ज्ञवालीले भन्नुभयो, “पार्टी एकतालाई जोगाउन हदैसम्मको प्रयास गरिरहेका छौं, केही समयपछि सकारात्मक परिणाम आउला भन्ने विश्वास छ ।”
पार्टी नेतृत्व तहमा विश्वासको वातावरण अझै नबने पनि दोस्रो तहका नेताहरु नियमित संवादमा रहेको बताउँदै आउनुभएको छ । प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशमा देखिएको पार्टी एकताको सन्देशले नेतृत्व तहलाई दवाव पुग्ने विश्वास दोस्रो पुस्ताका नेताहरुले लिनुभएको छ । त्यही कारणले प्रदेश सरकारमा सरकारका नीति तथा कार्यक्रमलाई पारित गर्न एमाले एकता प्रदर्शन भएको छ । प्रदेश सरकारको बजेट पारितमा समेत सोही एकता प्रदर्शन गर्ने तयारी भएको नेताहरुले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले जेठ २ को हैसियतमा पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहनुभएका बेला असन्तुष्ट खनाल–नेपाल पक्षका नेताहरुले भने पार्टीले गरेको ११ जना नेताको कारवाही फुकुवाको माग राख्नुभएको छ । यसअघि जेठ १० गतेको एमाले बैठकले ११ जना खनाल–नेपालसहितका नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारवाहीको निर्णय गरेको थियो । जेठ २३ मा पार्टी एकताको ६ बुँदे आव्हानमा प्रधानमन्त्री ओलीले बुँदा नम्बर ५ मा कारवाही फुकुवाको संकेत गर्नुभएको थियो । एकताका लागि खनाल–नेपाल पक्ष तयार भएमा त्यसमा पुनरविचार हुने उहाँको भनाई थियो ।
बुँदो नम्बर ५ मा भनिएको छ, “यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीहरुलाई लिएर कुनै कारवाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।” अध्यक्ष ओलीको सो आव्हानको ६ बुँदामै जवाफ दिनुहुँदै नेता माधवकुमार नेपालले पार्टीलाई पूर्ववत अवस्थाबाट सञ्चालन गरौं भनी अध्यक्ष ओलीले राख्नुभएको प्रस्ताव अत्यन्त रचनात्मक रहेको उल्लेख गर्नुभएको थियो ।
असन्तुष्ट नेपाल निकट नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अनौपचारिक छलफल भएपनि स्थायी कमिटी बैठकको पहलबारे आफूलाई कुनै जानकारी प्राप्त नभएको बताउनुभयो । “अध्यक्ष ओलीले पार्टी एकताको पहल लिएर जेठ २ को पूर्ववत अवस्थामा बैठक बोलाउन चाहनुभएको हो भने सकारात्मक हो” उहाँले भन्नुभयो ।