स्वास्थ्यमन्त्री तामाङको कत्ति छन त सम्पत्ति ?
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङ र उनकी पत्नी उषकला राईको नाममा १४ कित्तामा १२ विघा जमिन रहेको छ । उनले काठमाडौं, सिन्धुपाल्चोक र मोरङमा जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा २२ तोला सुन रहेको जनाएका छन् । यो सुनमध्ये केही पुख्र्यौली भएको र केही खरीद गरेको उल्लेख गरेका छन् । त्यस्तै, उनले तीन ब्यांकमा तीन लाख २७ हजार रुपैयाँ रहेको खुलाएका छन् । एभरेस्ट ब्यांकमा आफ्नो र राष्ट्रिय वाणिज्य तथा कृषि विकास ब्यांकमा पत्नी राईको खाता रहेको जनाएका छन् ।
तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीको १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशबापत प्राप्त पैतृक जग्गा ३ र पत्नी राईका नाममा ११ ठाउँमा जग्गा छ । यससँगै उनीसँग बिभिन्न कम्पनीको २० लाख बराबरको सेयर पनि रहेको छ । उनले आफूसँग एउटा कार र एउटा मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पत्नी राईका नाममा गोकर्णेश्वर नगरपालिका–८ मा ३ आना जग्गामा बनेको अढाइ तले घर छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जेठमा जनता समाजवादी पार्टी (जसपा)का १० जनासहित मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले मन्त्री नियुक्त भएको एक साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेबसाइटमा आफ्नो र पत्नी उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राई अहिले १ नम्बर प्रदेशमा सामाजिक विकासमन्त्री छन् ।